काठमाडौं । नेकपा (माओवादी केन्द्र) एमाले अध्यक्ष केपी ओली एमसीसीको सन्दर्भमा गैरजिम्मेवार बनेको आरोप लगाएको छ । एमसीसीबारे ओलीलाई प्रचण्डले गरेको फोन सम्वादबारे प्रष्ट्याउँदै प्रचण्डको सचिवालयले यस्तो अरोप लगाएको हो ।
बिहीबार नै अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति देउवा, प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष ओली र सत्ता साझेदार माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई छुट्टाछुट्टै फोन गरेका थिए ।
हिजो बेलुकी प्रचण्ड र नेकपा (एमाले) का अध्यक्ष केपी ओलीका बीचमा फोन सम्वाद भएको सचिवालयले जनाएको छ । प्रचण्डका स्वकीय सचिव रमेश मल्लले भनेका छन् , ‘अध्यक्ष कमरेड प्रचण्डले एमसीसी अहिले सामान्य आर्थिक सहयोगको परियोजना मात्र रहेन, यो राष्ट्रिय राजनीतिको मुद्दा बनिसक्यो । यसमा सत्तापक्ष र प्रतिपक्षको मानसिकताबाट माथि उठेर छलफल गरौं । यसमा तपाईं र तपाईंको पार्टीको धारणा स्पष्ट गर्नुस् र यसमा राष्ट्रिय सहमति निर्माण गर्ने कोसिस गरौं । देश अहिले निर्वाचनमा होमिएको र एमसीसीमा दलहरूबीच र राष्ट्रिय रूपमा सहमति बन्ने स्थिति नभएको अवस्थामा सम्बन्धित पक्षसँग यसलाई निर्वाचन पछि लैजाने कुरा गरौं ।’
ओलीले दिएको जवाफमा विज्ञप्तिमा भनिएको छ, ‘तर अध्यक्ष ओलीले त्यसलाई गम्भिरतापूर्वक लिनु भएन । उहाँले बरु तपाईंहरूसँग बहुमत छ, पास गर्नुस् । तर, गैरसांसद संसदमा रहँदासम्म संसद चल्न भने दिन्नौं भनेर पुरै गैरजिम्मेवार जवाफ फर्काउनुभएको हो । यसबारे अरु कुनै भ्रम रहन जरुरी छैन ।’
प्रतिक्रिया दिनुहोस्