काठमाडौं- आर्थिक वर्ष २०८०÷८१ को बजेट कार्यान्वयन शुरु भएसँगै सवैको ध्यान मौद्रिक नीति तर्फ गएको छ । देशमा गहिरिदो आर्थिक संकट समाधानका लागि के कस्ता व्यवस्थाहरु मौद्रिक नीतिले समेट्ला भन्नेमा ध्यान गएको हो ।
नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष (२०८०/८१) को मौद्रिक नीतिको मस्यौदा तयार पारेको छ। यस पटक मौद्रिक नीति खुकुलो हुने संकेत केन्द्रीय बैंकले गरेको छ।
बैंकका एक अधिकारीले अहिले राष्ट्र बैंकमा दैनिक तरलता नै पौने १ खर्ब थुप्रिन थालेकाले यही तरलता घटाउन चाहेको बताउनु भयो । यता अन्तर बैंक ब्याजदर १ प्रतिशतसम्म झरेको र तरलता बढेको भन्दै अब कर्जा विस्तारको योजनामा केन्द्रीय बैंक रहेको ती अधिकारीले जनाए ।
मौद्रिक नीतिको एक खालको मस्यौदा बनेपनि गभर्नर महाप्रसाद अधिकारी स्वदेशमा नहुँदा मस्यौदामाथि छलफल हुन सकेको छैन । गभर्नर अधिकारी सहितको टिम असार २३ गते क्यानडा गएका छन् । क्यानडामा फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटिएफ) को मूल्यांकन समूहसँग छलफल गर्न नेपालबाट गर्भनर सहितको टिम गएको हो ।
नेपालमा सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी १९ वटा ऐन–कानून विचाराधीन अवस्थामा छन् । सम्पत्ति शुद्धीकरणसम्बन्धी प्रस्तावित विधेयक संसदबाट पारित नहुँदा नेपाल ग्रे लिस्टमा पर्ने जोखिममा छ । सोही ग्रे लिस्टबाट जोगाउन सो टीम क्यानडा गएको हो ।
गभर्नर सहितको टिम साउन ३ गते स्वदेश फर्कनेछ । त्यसपछि व्यवस्थापनसँग र सञ्चालकसँगको बैठक बस्नेछन् । डेपुटी गभर्नर बम बहादुर मिश्रका अनुसार साउन सात गतेभित्र मौद्रिक नीति आउनेछ ।
प्रतिक्रिया दिनुहोस्