Ads

सिनामंगलमा शंकास्पद वस्तु राख्नेको कोठामा छापा हाने


काठमाडौं । आज बिहान काठमाडौंको सिनामंगलस्थित खोटाङ हलेसी सुनचाँदी पसलको अगाडि शंकास्पद वस्तु राखेर आतंक श्रृजना गर्न खोज्ने एकजनालाई पक्राउ गरेको प्रहरीले उनको कोठामा छापा हानेको छ । प्रहरीले आज पक्राउ परेका रौतहटका २८ वर्षीय खजयन्ती पासवानको सिनामंगलस्थित डेरामा छापा मारेको हो ।

त्यसक्रममा शंकास्पद वस्तु बनाउन प्रयोग भएको तार, टेप लगायतका सामग्री बरामद गरिएको जिल्ला प्रहरी परिसरले जनाएको छ । शंकास्पद वस्तु राखिएको सुनचाँदी पसल नजिकै रहेको सीसी क्यामरामा देखिएअनुसार उनले बिहान ७ बजेर ९ मिनेट जाँदा शंकास्पद वस्तु राखेर हिँडेका थिए ।

प्रहरीका अनुसार, पासवानले पसलका सञ्चालकलाई फोन गरेर ५ लाख रुपैयाँ माग गरेका थिए । नदिए उडाइदिने भन्दै शंकास्पद वस्तु राखेका थिए । पासवानले घटनामा आफ्नो संलग्नता समेत स्वीकारेका छन् । उनी वैदेशिक रोजगारीबाट फर्किएका व्यक्ति हुन् । घटनास्थलमा ‘नेपाल उत्थान क्रान्तिकारी पार्टी’को नाम उल्लेख गरिएको पर्चा समेत बरामद भएको थियो ।

Ads

सम्बन्धित पोष्टहरू