काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट अवैध रुपमा सुन तस्करीमा सङ्लग्न जोकोहीलाई पनि कारबाही हुने बताएका छन्।
शुक्रबार बिहान सो विमानस्थलको अध्यागमन विभाग र भन्सार कार्यालयको अनुगमन गरेपछि उनले सो चेतावनी दिएका हुन्।
त्यस अवसरमा सञ्चारकर्मीहरुले सुन तस्करीमा बालकोट, बालुवाटार र बुढानिलकण्ठको पनि मिलेमतो हुने गरेको छ नि? भन्ने प्रश्न गरेका थिए। उपप्रधानमन्त्री श्रेष्ठले भ्रष्टाचार र अपराध अनुसन्धानमा आफूले कुनै कोट, टार वा पार्टी नहेर्ने जवाफ दिए।
उपप्रधानमन्त्री श्रेष्ठले सुन तस्करीलगायतका अपराध नियन्त्रण गर्न सरकारले सचेतता, सावधानी र गम्भिर्यता अपनाउन नसकेको स्विकार गर्दै आईन्दा त्यस्तो अवस्था आउन नदिने दृढता समेत व्यक्त गरे।
उनले वर्तमान सरकारले भ्रष्टाचारलगायतका गतिविधिलाई अन्त्य गर्ने अभियान सुरु गरेको र त्यसलाई निष्कर्षमा पुर्याएरै छाड्नेसमेत दोहोर्याए। उपप्रधानमन्त्री श्रेष्ठले आफूलाई सो सुन प्रकरणमा मुछिएको भनेर प्रश्न गर्नै नमिल्ने जिकिरसमेत गरे।
उपप्रधानमन्त्री श्रेष्ठले भन्सार कार्यालयमा चेकजाँचका लागि प्रहरी परिचालन गर्नका लागि छिट्टै सरकारले आवश्यक निर्णय लिने पनि बताए।
प्रतिक्रिया दिनुहोस्