काठमाडौं । नेपाली कांग्रेस टोखा नगर समिति तथा काठमाडौं क्षेत्र नम्बर ५ को आयोजनामा टोखा नगरपालिका–६ मा रहेको मंगलादेवी भवन परिषरमा वृक्षरोपण गरिएको छ । प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको ४१ औँ स्मृति दिवसको अवसरमा वृक्षरोपण गरिएको हो ।
वृक्षरोपण कार्यक्रममा नेपाली कांग्रेसका नेता एवं अर्थमन्त्री डा प्रकाशशरण महत, काठमाडौं–५ का सांसद प्रदीप पौडेल, काठमाडौं–५ का क्षेत्रीय सभापति श्यामबहादुर खड्का, कांग्रेस टोखा नगर प्रमुख ओमकृष्ण विमली, टोखा–६ की वडाध्यक्ष शान्ता पौडेल तथा स्थानीयहरुको सहभागिता रहेको क्षेत्र नम्बर–५ प्रदेशसभा कार्यसमिति सदस्य दुर्गा कार्कीले बताइन् ।
वृक्षारोपणपछि बीपीको स्मृतिमा विशेष कार्यक्रमसमेत आयोजना गरिएको थियो । कार्यक्रममा अर्थमन्त्री डा. प्रकाशशरण महत, सांसद प्रदीप पौडेल, बागमती प्रदेशसभा सदस्य श्यामबहादुर खड्का, टोखा नगर सभापति ओमकृष्ण विमलीलगायतले बीपीको योगदानबारे चर्चा गरेका थिए ।
विसं २०१७ पुस १ गते शाही नेपाली सेनाको शक्तिका भरमा जननिर्वाचित सरकार अपदस्थ गरिएपछि कोइरालालगायत नेतालाई सिंहदरबारमा बन्दी बनाइएको थियो । एक महिनापछि सेनाको सुन्दरीजल आर्सनलका प्रमुखको सरकारी निवासलाई वरिपरि पर्खालले घेरेर नेता कोइराला, संसद्का प्रथम सभामुख कृष्णप्रसाद भट्टराई, नेता गणेशमान सिंहलगायत मन्त्रीलाई सुन्दरीजल बन्दीगृहमा बन्दी बनाइएको थियो ।
विसं २०२५ मा स्वास्थ्य परीक्षणका लागि जेल मुक्त भएका कोइरालाले आठ वर्षसम्म भारतमा निर्वासित जीवन बिताएका थिए । भारतमा निर्वासित भएर प्रजातन्त्र पुनःस्थापनाका पक्षमा सङ्घर्ष गर्दा राष्ट्रियता कमजोर भएको विश्लेषण गरी आठवटा ज्यान मुद्दाको पर्वाह नगरी २०३३ पुस १६ गते राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई उनी स्वदेश फर्किएका थिए । नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर सङ्घर्ष गरेका कोइरालाको २०३९ साउन ६ गते निधन भएको थियो ।
प्रतिक्रिया दिनुहोस्