काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष प्रभु साहले उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)का विरुद्ध कडा प्रतिवादमा उत्रिन आफू मातहतका नेता तथा कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् ।
तत्कालीन मधेशी जनाधिकार फोरमको तर्फबाट भएको ‘गौर नरसंहार’का पीडित परिवारलाई न्याय दिलाउन घोषणा गरिएको आन्दोलनलाई सशक्त बनाउन र परि आए प्रतिवाद गर्न अध्यक्ष साहले निर्देशन दिएका हुन् ।
गौर हत्याकाण्ड पीडित संघर्ष समितिले घोषणा गरेको आन्दोलनमा आफ्नो पूर्ण समर्थन रहेको र पीडितलाई न्याय दिलाउन आन्दोलन सशक्त बनाउनुपर्ने उनले बताए । रौतहटको गरुडामा आजपा गरुडा नगर कमिटीद्वारा आयोजित भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष साहले यस्तो धारणा राखे ।
उनले भने, ‘प्रधानमन्त्री र गृहमन्त्रीबाट आश्वासन पाएपनि मुख्य दोषीलाई कारबाही हुनेमा शंका छ । त्यसैले अब सशक्त आन्दोलनको विकल्प छैन ।’ गौर हत्याकाण्ड पीडित संघर्ष समितिले गौरमा विशाल प्रदर्शन गर्दै आन्दोलनको घोषणा गरेको थियो । घटनाको मुख्य दोषी उपेन्द्र यादव रहेको भन्दै उनीसहित सबै दोषीमाथि साउन १४ भित्र कारबाही गर्न समितिले अल्टिमेटम समेत दिएको छ ।
प्रतिक्रिया दिनुहोस्