Ads

ग्रामीण सडक अवरुद्ध हुँदा सास्ती


 म्याग्दी ।  बाढीपहिरोका कारण म्याग्दीका ग्रामीण सडक अवरुद्ध हुँदा पैदलयात्रा गर्न र  यातायातका सवारीसाधन सञ्चालनमा समस्या भएको छ । सडक बिग्रिएपछि ग्रामीण क्षेत्रमा सञ्चालित यातायात सेवा पूर्ण रूपमा प्रभावित हुँदा यात्रु मर्कामा परेका छन् । भएका सडकको स्तरोन्नति गर्नुभन्दा नयाँ सडक निर्माण प्राथमिकतामा पर्ने गरेकाले जिल्लाका अधिकांश ग्रामीण सडक वर्षाको समयमा अवरुद्ध हुने गरेका हुन् ।

सडकमा खाल्टाखुल्टी हुनुका साथै हिलोका कारण जोखिमपूर्ण यात्रा गर्न बाध्य भएको स्थानीय बताउँछन् । जिल्लाको देविस्थान, मुदी, मुना, ओखरबोट, दिच्याम, रुम, निस्कोटलगायत क्षेत्रका ग्रामीण सडक अवरुद्ध बनेका छन् । पहिरोका कारण यातायातका साधन सञ्चालनमा कठिनाइ भएको दरवाङ–ओखरबोट सडकमा जीप चलाउँदै आउनुभएका विकल पुनले बताए । उनका अनुसार अवरुद्ध सडक सञ्चालन गर्न स्थानीयले दबाब दिँदै आएका छन् ।

बर्षाको समयमा कच्ची सडक सञ्चालनमा कठिनाइ हुने गरेको मालिका गाउँपालिका–५ देविस्थानका वडाध्यक्ष मीम पुनले बताए । “ग्रामीण सडक वर्षाको समयमा जति मर्मत गरे पनि एक दिनको झरीले पूरै बिग्रिने भएकाले तत्काल सञ्चालन गर्न समस्या छ”, उनले भने , “अहिले अनावश्यकरुपमा रकम खर्च गर्नुभन्दा वर्षायाम सकिएपछि सडक स्तरोन्नति गर्दा प्रभावकारी हुने भएकाले वर्षापछि मर्मत गर्ने तयारी गरिरहेका छौँ ।”

त्यस्तै, धवलागिरि र मङ्गला गाउँपालिकाका अधिकांश सडक अवरुद्ध बनेका छन् । सडक अवरुद्ध भएपछि गाउँमा उत्पादन भएका कृषि उपजलाई बजारसम्म पु¥याउन समस्या भइरहेको स्थानीयले बताएका छन् ।

मालिका गाउँपालिका–५ देविस्थान र ३ रुममा उत्पादन भएका आलु तथा तरकारीका साथै जङ्गलमा सङ्कलन गरिएका रातो च्याउ बजारमा पुर्‍याउन समस्या भएको किसान प्रेम सिउथानी मगरले बताए । “मालिका गाउँपालिकाको केन्द्र दरवाङदेखि वडा नं ५ को देवीस्थान जाने सडकमा यातायातका साधन नगुडेको डेढमहिना भयो”, उनले भने , “सामान्य वर्षा हुँदासमेत बाटो बिग्रिएपछि दरवाङबाट चारघण्टा पैदल हिँडेर स्थानीय जाउआउ गर्न बाध्य भएका छन् ।”

गाउँपालिका र नगरपालिकाबाट बजेट विनियोजन गरी निर्माण भएका अधिकांश सडक पहिराका कारण अवरुद्ध भएका दरवाङका व्यवसायी अमृत सापकोटाले बताउनुभयो । पालिकाले करोडौँ बजेट विनियोजन गरेर गाउँमा सडक खने पनि गाडी नचल्दा आवागमनमा सास्ती खेप्नु परेको उहाँको भनाइ छ । उपभोक्ता समितिमार्फत निर्माण भएका धेरै सडक बिना नापजाँच खनिएकाले वर्षामा खाल्डाखुल्डीका कारण गाडी गुड्ने अवस्थामा नभएको सापकोटाले बताए ।

“डेढदशक अगाडिसम्म यहाँका ग्रामीण क्षेत्रमा बेग्लै रौनक थियो । बस्ती मोटरबाटोले जोडिएका थिएनन् । सदरमुकाम बेनी बजारबाट गाउँ उक्लिन घोडा चढ्नु पथ्र्यो वा पैदल हिँड्नुपथ्र्यो । भारी बोक्ने भरिया र घोडा खच्चडको बथानले बाटो रमाइलो हुन्थ्यो”, उनले भने , “अहिले जिल्लाका सबै वडा तथा टोलटोलमा सडक पुगेको छ । स्थानीय सरकारको स्थापनापछि पहिलो प्राथमिकतामा सडक परेको छ ।” धवलागिरि गाउँपालिका–१ गुर्जामा बाहेक बस्तीबस्तीमा सडक पुगेको उनको भनाइ छ ।

पाँच वर्षको अवधिमा सङ्घ, प्रदेश र स्थानीय तहको बजेटबाट जिल्लाका छ स्थानीय तहमा ७४ ग्रामीण सडक निर्माण भएका जिल्लास्थित पूर्वाधार विकास कार्यालयको तथ्याङकमा उल्लेख छ । सडक विस्तारले ग्रामीण जनजीवनमा विकास र परिवर्तनत ल्याए पनि प्राकृतिक स्रोतको विनास पनि गरेको स्थानीय बताउँछन् ।

ग्रामीण सडक स्तरोन्नति हुँदा ऐतिहासिक र पुरातात्विक सम्पदा नासिनुका साथै वर्षाको समय ती सडकमा ठूला–ठूला पहिरो जाँदा मानवीय तथा भौतिक क्षति भइरहेको बेनी बजारका नैनकुमार श्रेष्ठले बताए । “बिना इञ्जिनियरिङ धमाधम निर्माण भएका सडकले गाउँको सुन्दरता घटाएको छ भने पर्यावरणमा पनि नकारात्मक असर पुर्‍याइरहेको छ”, उनले भने ।

स्थानीय तहले प्रत्येक हरेक वर्ष सडक निर्माणका लागि करोडौँ बजेट खर्च गरे पनि सडक गुणस्तरीय नहुँदा स्थानीयले सास्ती भोग्नु परेको श्रेष्ठको भनाइ थियो । उनले अनुसार ग्रामीण क्षेत्रका धेरैजसो सडकमा वर्षा सुरु भएपछि गाडी सञ्चालन हुन नसक्दा दैनिक उपभोग्य सामान बोकेरै ल्याउनुपर्ने बाध्यता छ ।

“सदरमुकाम बेनी बजार र नगरपालिका क्षेत्रमा मात्रै नभई पाँच वर्ष अघिसम्म निकै दुर्गम र अनकण्टार मानिएका ठाउँमा समेत अहिले सडक पुगेको छ”, श्रेष्ठले भने , “सडकले गाउँका नागरिकलाई सुविधासँगै सास्ती पनि दिएको छ । बर्षाको समयमा सडकका कारण पनि बाढीपहिरोको जोखिम बढेको उनले बताए ।

Ads

सम्बन्धित पोष्टहरू