Ads

एमालेले प्रदेशहरूको अधिवेशनको मिति तोक्यो


काठमाडौं-नेकपा एमालेले गण्डकी बाहेक प्रदेशहरुको अधिवेशनको मिति तय गरेको छ।

‘गण्डकी प्रदेशको बैठक बस्न बाँकी रहेकाले मिति तोक्न बाँकी छ। अरू प्रदेशहरुले अधिवेशनको मिति तय गरिसक्यो’, केन्द्रीय कार्यालय सचिव डा.भिष्म अधिकारीले बताउनु भयो । उहाँका अनुसार, कोशी प्रदेशको अधिवेशन १२-१३ असोजमा हुनेछ। मधेश प्रदेशले ५-६ असोज र बागमती प्रदेशले ८-९ असोजमा अधिवेशन गर्ने भएको छ।

लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशले भदौभित्रै अधिवेशन गर्ने निर्णय गरेको छ । १६-१७ भदौमा लुम्बिनी, २९-३० भदौमा कर्णाली र २२-२३ भदौमा सुदूरपश्चिम प्रदेशले अधिवेशनको मिति तोकेको छ।

अहिले कायम रहेको प्रदेश संगठन कमिटीले प्रथम अधिवेशनको मिति तोकेको हो। अधिवेशनमा एक सय संगठित सदस्य बराबर एक प्रतिनिधि हुनेछ।

प्रतिनिधि मध्ये ३३ प्रतिशत महिला अनिवार्य गर्ने, उत्पीडित समुदाय र मजदुरलाई कोटामा प्रतिनिधि ल्याउने तयारी छ।

प्रतिनिधि प्रक्रियाको चयन १५ साउनमा एमाले संगठन विभागले अभिलेखीकरण गर्ने सदस्यताको आधारमा हुनेछ। कार्यालय सचिव अधिकारीले भन्नुभयो, ‘पार्टी सदस्यको अन्तिम नामावली तयार भएपछि त्यसै आधारमा अधिवेशनको प्रतिनिधि चयन हुनेछ, प्रतिनिधि छनोट पनि त्यसैमा आधारित हुनेछ।’

एमालेले आउने एक वर्षभित्रै प्रदेश, जिल्ला र पालिका अधिवेशन गर्ने तालिका तय गरेको छ। त्यसअनुसार, सवैभन्दा पहिले प्रदेश अधिवेशन गर्ने तयारीमा पार्टी पंक्ति परिचालित भएको अधिकारी बताउनु भयो।

प्रदेशपछि जिल्ला र पालिका तहको अधिवेशन हुनेछ। त्यसका लागि एमालेले फरक भूगोलका नेताहरुलाई जिल्ला इन्चार्ज बनाएर पठाएको छ भने प्रदेशको इन्चार्ज पार्टी सचिवहरुलाई जिम्मा दिएको छ।

Ads

सम्बन्धित पोष्टहरू