झापा । झापाको कनकाई नगरपालिका वडा नं. कोटीहोमस्थित समर्पण राष्ट्रिय अभियानको भवनमा रहेको पीसीआर ल्यावका सम्पूर्ण मेशिन औजार, यन्त्र उपकरणहरु मेची प्रादेशिक अस्पताल भद्रपुरलाई हस्तान्तरण गरिएको छ ।
कोरोना सङ्क्रमण समुदायसम्म देखिन थालेपछि तीन वर्ष अघि मेची प्रादेशिक अस्पताल भद्रपुरको स्वामित्वमा रहने गरी कोटीहोममा ‘एकका लागि एक अभियान’को पहलमा पीसीआर ल्याव स्थापना गरिएको थियो । हाल कोरोना संक्रमण नियन्त्रण भइसकेको अवस्थामा कोटीहोमस्थित पीसीआर ल्याव प्रयोगबिहीन हुन थालेपछि त्यहाँ रहेका मूल्यवान मेशिन औजार, यन्त्र उपकरणहरु प्रादेशिक अस्पताललाई हस्तान्तरण गरिएको ‘एकका लागि एक अभियान’का संयोजक महेन्द्रकुमार गिरीले जानकारी दिए ।
‘एकका लागि एक अभियान’, कनकाई नगरपालिका र प्रादेशिक अस्पतालबीच भएको सहमति बमोजिम प्रादेशिक अस्पतालले आफ्नो दोस्रो प्रयोगशालाको रुपमा उक्त ल्याबलाई अपनत्व ग्रहण गरेको थियो । हाल संक्रमण नियन्त्रण भइसकेको अवस्थामा उपकरणलाई आवश्यकता अनुसार अस्पतालले प्रयोगमा ल्याउन सक्ने भएकाले स्वास्थ्यसँग सम्बन्धित बहुमूल्य उपकरण अस्पताललाई हस्तान्तरण गरिएको अभियानका संयोजक गिरीले बताए ।
प्रतिक्रिया दिनुहोस्