Ads

मनसुन शुरु भए पछि १० जनाको ज्यानगयो


झापा\ यस वर्षको मनसुन शुरु भएसँगै झापामा १० जनामा ज्यान गुमाएका छन् । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार जेठ १ देखि असार ७ गतेसम्मको अवधिमा विभिन्न खोलानालामा डुबेर उनीहरुको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्र रिजालका अनुसार गौरीगञ्ज गाउँपालिका–३ मा स्थानीय लेरा खोलामा डुबेर पर्शुराम पराजुलीका १४ वर्षीय छोरा सागर पराजुलीको मृत्यु भएको छ । यस्तै बिर्तामोड नगरपालिका– ६ बस्ने नेत्र मैनालीका १९ वर्षीय छोरा अनिल मैनाली देउनियाँ खोलाले बगाई मृत्यु भएको छ । यसैगरी, भद्रपुर नगरपालिका–९ शान्ति चौक बस्ने वर्ष ७५ को जीवन थापा मगरको मेची क्याम्पस भद्रपुरको पूर्व नालीको पानीमा डुबेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

गौरादह नगरपालिका–६ का टगुवास्थित रतुवा खोलामा ६५ वर्षीय भागवत शर्माको शव भेटिएको प्रहरीले जनाएको छ । उनको शव घोप्टो परी मृत अवस्थामा फेला परेको थियो । यसै गरि झापा गाउँपालिका–४ ग्रामथानस्थित नेपाल–भारतको दशगजा सीमाना क्षेत्रमा रहेको खाल्डोमा जमेको पानीमा डुबेर सोही गाउँपालिका–१ का गौतमकुमार गणेशका सात वर्षीय छोरा डेनिस गणेशको मृत्यु भएको छ ।

यसैगरी, शिवसताक्षी नगरपालिका–१० मा दोमुखाको बाँधमा पौडी खेल्ने क्रममा कनकाई नगरपालिका–२ का दुर्गा गुरागाईंको १८ वर्षीय छोरा सलिन गुरागाईंको डुबेर मृत्यु भयो भने गौरादह नगरपालिका– ९ स्थित किस्ने खोलामा डुबेर अर्का एक बालकले पनि ज्यान गुमाए । आबुलाल ताजपुरियाका १३ वर्षीय छोरा एन्जल ताजपुरिया पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

यसैगरी, शिवसताक्षी नगरपालिका–१० बस्ने मनबहादुर राईकी अन्दाजी २६ वर्षीया छोरी कमला राईलाई गाई, बस्तु चराउन गएको बेला कनकाई सिँचाई नहरको शाखा नहरमा डुबेर मृत्यु भएको थियो । त्यस्तै, सतासी झर्नाको दहमा साथीसँग घुम्न पुगेका कमल गाउँपालिका–५ पाडाजुँगीका टेकबहादुर भण्डारीका २१ वर्षीय छोरा निश्चल भण्डारीको पौडी खेल्दा डुवेर मृत्यु भएको थियो भने । बाह्रदशी गाउँपालिका–१ नयाँ बस्तीमा अदुवा खोलामा खोलाले बगाएर ल्याएको एउटा शवको पहिचान खुलेको छैन ।

 

Ads

सम्बन्धित पोष्टहरू