काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले उच्च अदालत विराटनगरको आदेशपछि पनि वृक्षरोपणलाई निरन्तरता दिने बताएका छन् । बिहीबार उच्च अदालतले विराटनगरले सर्दु जलधार क्षेत्रमा रहेको व्यक्तिको जग्गामा वृक्षरोपण नगर्न मेयर साम्पाङलाई अन्तरिम आदेश दिएपछि आफ्नो प्रतिक्रिया जनाउँदै वृक्षरोपणलाई निरन्तरता दिने बताएका हुन् ।
धरान–४ की रोजिना अधिकारीले दायर गरेको रिटमा उच्च अदालत विराटनगरका न्यायाधीश मिलनकुमार राईको इजलासले बिहीबार मुद्दाको अन्तिम टुंगो नलागेसम्म व्यक्तिको नाममा रहेको जग्गामा अनधिकृत रूपमा प्रवेश गर्ने, विरुवा रोप्नेजस्ता काम नगर्न आदेश दिएको थियो ।
उच्चको आदेशमा भनिएको छ –‘प्रस्तुत निवेदनको अन्तिम टुङ्गो नलागेसम्म निवेदकको नाम दर्ताको कि.नं. ४२१ र ३४५ को जग्गामा अनाधिकृत रुपमा प्रवेश गर्ने, वृक्षारोपण गर्ने गराउने कार्य नगर्नू नगराउनु भनी उच्च अदालत नियमावली, २०७३ को नियम ४२ बमोजिम विपक्षीहरुको नाममा अन्तरिम आदेश जारी गरिदिएको छ । आदेशको जानकारी विपक्षीहरुलाई दिई नियमानुसार पेस गर्नू ।’
उक्त आदेशपछि मेयर साम्पाङले अदालतको आदेश सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दै अदालतको सम्मान गर्ने बताएका छन् । त्यसपछि फेरि अर्को अभिव्यक्ति सार्वजनिक गर्दै उनले उच्च अदालतको अन्तरिम आदेशको सम्मान गर्दै भए पनि शनिबार विरुवा रोपाईं हुने उल्लेख गरेका छन् । त्यसका लागि स्थान भने आफूले देखाउने उनको भनाइ छ ।
साम्पाङ लेख्छन् – ‘उच्च अदालतको अन्तरिम आदेशको सम्मान गर्दै भए पनि भोलि श्रमबार बिरुवा रोपाइ भने हुने नै छ ! स्थान म देखाउने छु ! बृहत् वृक्ष रोपण कार्यका लागि सबैलाई विरुवा तयार गर्दै गर्नु होला ! बिहान ६ बजे धरानका विभिन्न स्थानहरुमा भेला भई बिरुवा रोप्न जानेछौँ !’
प्रतिक्रिया दिनुहोस्