पाल्पा । पाल्पाको सिद्धबाबा क्षेत्रमा निर्माणाधीन सिद्धबाबा सुरुङ मार्गको ढोका पहिरोले बगाएको छ। केही दिन अघिदेखि परेको वर्षाले माथिबाट पहिरो खस्दा सुरुङ मार्गको दुवैतर्फ निर्माण सकिएको ढोका पूरै भत्किएको हो । सुरुङ मार्गको माथिल्लो भाग रामापिथेकसनजिकै निर्माण भइरहेको ढोकामा पहिरोले क्षति पु-याएको निर्माण पक्षले जनाएको छ ।
ढोकाको ५० मिटर माथिबाट ठुलो चट्टानसहित पहिरो खसेर क्षति पु-याएको आयोजनाका इन्जिनियर युधिष्थिर पन्थीले जानकारी दिए । यो भागमा निर्माण व्यवसायीले टनेलको ढोका निर्माण गरिसकेको थियो । सुरुङको तल्लो भाग सिद्धबाबा मन्दिरनजिकै बनेको सुरुङ मार्गको ढोकासमेत पहिरोले बगाउँदा तीन महिनाको लगानी खेर गएको छ ।
बर्सातको समयमा पनि चिनियाँ कम्पनीले सिद्धबाबा सुरुङ मार्गको काम गरिरहेको थियो । बर्सातको समयमा उक्त क्षेत्र पहिरोको अन्यन्तै जोखिमयुक्त क्षेत्र भएकाले मेसिनले थर्काएको जमिन पहिरोका रूपमा खसेको सिद्धार्थ सुरुङ मार्ग आयोजनाका प्रमुख रामपुकार जैसवालले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्