विराटनगर । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले सभामुखलाई राजीनामा गराएर कोशी प्रदेश सरकार गठन गर्नु जालझेल भएको बताएका छन् । विराटनगर विमानस्थलमा पत्रकारसँगको कुराकानीमा उनले एउटा प्रदेशको सत्ता टिकाउन र सरकार बनाउन सभामुखको राजीनामा दिनु जालझेलपूर्ण काम हुने बताएका हुन् ।
उनले संविधानलाई गीता, बाइबलजस्तो सच्याउनु हुँदैन भन्नेहरूले संवैधानिक जटिलतामा लगेको बताए । लिङदेनले कोशी प्रदेश सरकार गठनमा राप्रपा तत्काल कसैको पक्ष र विपक्षमा नलाग्ने बताए ।
अमर्यादित खेल–कार्की
नेकपा एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्कीले कांग्रेसले सभामुखलाई राजीनामा गराएर अमर्यादित खेल खेल्न खोजेको बताएका छन् ।
आज विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै एमाले संसदीय दलका नेता कार्कीले कांग्रेसले अर्मादित खेल खेल्न लागेको बताएका हुन् ।राजनीतिक सङ्कटबाट बाहिर निस्कन कांग्रेस र एमाले मिल्नुपर्ने भए पनि तत्काल सम्भावना आफूले नदेखेको उनले बताए ।
प्रदेश प्रमुखले सरकार गठनका लागि दिएको समय आज बेलुका पाँच बजे सकिंदैछ । सत्तारुढ गठबन्धनले सभामुख बाबुराम गौतमलाई राजीनामा गर्न लगाएर सरकारमा दाबी पेस गर्ने तयारी गरेको छ ।
प्रतिक्रिया दिनुहोस्