भोजपुर, रासायनिक मलको प्रयोग घटाउँदै प्राङ्गारिक खेतीमा जोड दिन यहाँका किसान गड्यौला मल उत्पादनमा जुटेका छन् । यहाँका दुईवटा कृषक समूहका ४० घरपरिवारले गड्यौला मलको व्यावसायिक उत्पादन थालेका हुन् ।
कृषि ज्ञान केन्द्रले किसानलाई अनुदान सहयोग उपलब्ध गराएर गड्यौला मल उत्पादनमा लाग्न प्रोत्साहित गरेको छ । कार्यालयको सहयोगमा भोजपुर नगरपालिका–१२ टक्सारको न्यू जिम्पु कृषक समूहका २० परिवार र वडा नं ५ बोखिममा रहेको पार्टी खोला कृषक समूहका २० गरी ४० परिवारले गड्यौला मल उत्पादन गरिरहेका छन् । उनीहरुलाई ७५ प्रतिशत अनुदानमा गड्यौला मल उत्पादनका लागि आवश्यक सहयोग गरिएको केन्द्रको भनाइ छ ।
रासायनिक मलको प्रयोगलाई न्यूनीकरण गर्दै प्राङ्गारिक बस्तु उत्पादनमा प्रोत्साहन गर्न गड्यौला मल उत्पादन तथा प्राङ्गारिक मल सुुधार कार्यक्रम सञ्चालनमा ल्याइएको केन्द्रका प्रमुख गणेश खत्री बताउनुहुन्छ । गड्यौला मलको प्रयोगले माटोको उर्वराशक्ति बढाउने भएकाले कृषकलाई यो मलको उत्पादनसँगै प्रयोगमा जोड दिएको उहाँको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्