Ads

पार्टी पार्टीजस्तो भएन, संगठन निर्माणमा जिम्मेवारीपूर्वक लागौं : प्रचण्ड


काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टी पार्टीजस्तो नभएको बताएका छन् ।

कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा सुरु भएको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले आफ्नो पार्टी कमीकमजोरी स्वीकार नडराउने बताए ।

‘पार्टीको संगठनमा नेता र कार्यकर्ताको विशाल कमिटी छ । तर, पार्टी पार्टीजस्तो भइराखेको छैन, ‘उनले भने, ‘कम्युनिष्ट पार्टीको पुन:निर्माण अभियान यो बैठकबाट थाल्नुछ। केन्द्रीय कमिटीका जिम्मेवार सदस्यहरूले गम्भीर, जिम्मेवार र रचनात्मक ढंगले बहस गर्नुहुने विश्वास व्यक्त गर्दछु।’

उनले पार्टी पुनर्निर्माणको ऐतिहासिक थालनी बैठकबाटै गर्नुपर्ने धारणा राखे। प्रधानमन्त्री दाहालले बैठकले सिंगो राष्ट्र र जनताको आवश्यकतालाई सम्बोधन गर्ने विश्वास व्यक्त गरे। उनले भने,’ पार्टी एकताको नयाँ प्रक्रियामा जाँदैछौं। बैठकले पार्टी र आन्दोलनलाई मात्रै नभइ सिंगो राष्ट्र र जनताको आवश्यकतालाई सम्बोधन गर्नेछ, ऐतिहासिक निष्कर्ष निकाल्नेछ।’

उनले पछिल्लो समय पार्टीको नेतृत्वमा सरकार गठन भएपछि जनतामा आशा र भरोसा पलाएको दावी गरे। ‘जनतामा उत्पन्न आशा र भरोसाको स्थिति छ। यसलाई संगठनमा रुपान्तरण गर्ने र जनतासँगको सम्बन्धलाई अझ प्रगाढ बनाउन अभियान बदल्ने जिम्मेवारी बढेको छ,’उनले भने।

अध्यक्ष दाहालले राष्ट्रिय एकता र स्वाधिनतालाई मजबुद बनाउन जरुरी रहेको समेत बताए।

Ads

सम्बन्धित पोष्टहरू