काठमाडौं । भारतको उत्तराखण्डस्थित गौरीकुण्डमा पहिरोले पुरिएर एकै परिवारका सातजना सहित १३ जना नेपाली नागरिक हराइरहेको खबर आएको छ । यसअघि ७ जना बेपत्ता भनिएकोमा थप ६ जना नेपाली पनि पहिरोमा पुरिएको पाइएको स्थानीय प्रहरीलाई उद्धृत गर्दै भारतीय संचारमाध्यमले जनाएका छन् । भारी वर्षापछि झरेको पहिरोले तीनवटा पसल बगाउँदा उनीहरु बेपत्ता भएका हुन् ।
पसल संचालक र त्यहाँ खाना खाइरहेका नेपाली पहिरोमा पुरिएको जागरणको अनलाइन संस्करणले जनाएको छ । पहिरोमा पुरिएर अमर बोहरा र उनको परिवार बेपत्ता भएको जानकारी यसअघि दिइएको थियो । थप ६ जना नेपाली पनि पहिरोमा पुरिएको पाइएको छ ।
अमरसहित तीन छोरा, दुई छोरी र श्रीमतीलाई पहिरोले बगाएको छ । ढावामा खाना खाइरहेका मन बहादुर बुढा, लालबहादुर कामी र सुखराम राउत पनि बेपत्ता भएको बताइएको छ । यस्तै स्थानीय उद्दार अधिकारी नन्दन सिंह रजवारले वीर बहादुर, उनकी पत्नी सुमित्रा, छोरी निशा पनि पहिरोमा पुरिएर बेपत्ता भएको स्थानीय प्रहरीलाई जानकारी दिएका छन् । वीरबहादुरले ढावा संचालन गरिरहेका थिए । उनी हुम्लाको रायाका भएको बताइएको छ ।
पहिरोले बगाएर अमर बोहरा, उनकी पत्नी २६ वर्षीया अनिता, छोरी १४ वर्षीया राधिका र ८ वर्षीया पिंकी तथा छोराहरु ७ वर्षका पृथ्वी, ६ वर्षका जटिल र ३ वर्षका वकील पनि बेपत्ता छन् । लगातार वर्षा भइरहेकाले उद्दारमा कठिनाइ भइरहेको स्थानीय प्रहरीले जनाएको छ ।
स्थानीय प्रहरीले हराइरहेकाहरु नेपालको कर्णालीका भएको भनेको छ । उनीहरु हुम्ला र जुम्लाका भएको अनुमान गरिएको छ । यद्यपी घटनाको विस्तृत विवरण आउन बाँकी छ । नेपाल प्रहरीले भने घटनाबारे कुनै जानकारी प्राप्त नभएको जनाएको छ । गौरीकुण्ड प्रशिद्ध तिर्थस्थल केदारनाथ जाने बाटोमा पर्छ । त्यहाँ रोजगारीका लागि पनि हजारौं नेपाली पुग्ने गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्