Ads

आज प्रतिनिधिसभा र राष्ट्रियसभाको दुवै बैठकमा एमालेको अवरोध हुने


काठमाडौं । आज बस्न लागेका संघीय संसदका दुवै सदनका बैठकहरु पनि प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले अवरोध गर्ने भएको छ । संसदको तल्लो सदन प्रतिनिधिसभाको बैठक संसद् भवन नयाँबानेश्वरमा दिउँसो १ बजेका लागि बोलाइएको छ भने माथिल्लो सदन राष्ट्रियसभाको बैठक पनि संघीय संसद् भवनमा दिउँसो १ बजे बोलाइएको छ ।

आजको प्रतिनिधिसभा बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त कार्यभार तोकिएको र विधेयक प्रमाणीकरण सबन्धी पत्रहरूको ब्यहोरा पढेर सुनाउने तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट प्राप्त कार्यभार तोकिएको पत्र पढेर सुनाउने कार्यसूची छ । कार्यसूची अनुसार सभामुख देवराज घिमिरेले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नेकपा एमालेका सांसद टोपबहादुर रायमाझीलाई निलम्बन गरिएको जानकारी गराउने छन् ।

कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले बेपत्ता पारिएका ब्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोग २०७१ को दफा ४२ को उपदफा २ बमोजिम आयोगको कार्यविधि थप गर्ने प्रस्ताव पेश गर्नेछन् ।शिक्षा मन्त्री अशोककुमाार राईले राष्ट्रियसभामा उत्पत्ति भएको नेपाल विश्वविद्यालय विधेयक २०८० लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने प्रस्ताव पेश गर्नेछन् भने सभामुखले १० वा सो भन्दा बडी बैठकमा अनुपस्थित सांसदहरूको सूचनाहरू सभाको स्वीकृतिका लागि पेश गर्ने कार्यसूची रहेको छ ।

त्यस्तै आजको राष्ट्रियसभा बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त कार्यभार तोकिएको र विद्येयक प्रमाणीकरण सबन्धी पत्रहरुको ब्योहोरा पढेर सुनाउने छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयबाट प्राप्त कार्यभार तोकिएको पत्र पनि पढेर सुनाइनेछ । विद्यायन व्यवस्थापन समितिको सभापति जयन्ती देवी राईले संविधान अनुसार बाँकी कानुनहरुको अध्ययन प्रतिवेदन २०८०’ पेश गर्ने सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ ।

यद्यपी एमालेले भने दुवै सदनको बैठकमा गरिरहेको अवरोध कायमै राख्ने संकेत देखिएको छ । एमालेले संसदको बैठक अवरोधलाई कायमै राख्ने जनाए पछि गतिरोेध हटाउन सभामुख घिमिरले नेपाली कांग्रेस, एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरुलाई छलफलका लागि बोलाएका छन् ।

सभामुख घिमिरेले सोमबार दिउँसो १२ बजे सिंहदरबारस्थित आफ्नो कार्यकक्षमा प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित प्रमुख विपक्षी एमालेका अध्यक्ष केपी शर्मा ओली र कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रमुख सचेतक वा सचेतकसहित उपस्थित हुन आह्वान गरेका हुन् ।

एमालेले क्विन्टल सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानविन समिति नबनेसम्म संसद चल्न नदिने अडान लिँदै आएका कारण आज पनि बैठक चल्ने सम्भावना न्यून रहेको छ । एमालेले छानविन समितिको माग गरिरहँदा सरकारले भने यसको आवश्यकता नभएको जनाइसकेको छ ।

Ads

सम्बन्धित पोष्टहरू