काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाको राजीनामा मागेको छ । कोभिडविरुद्ध पहिलो खोप किनेर लगाएको मन्त्री खतिवडाको दाबी झुटो भएको भन्दै एमालेले आपत्ति जनाउनको साथै राजीनामा मागेको छ ।
एमालेका नेता तथा स्वास्थ्य तथा जनसंख्या विभागका प्रमुख योगेश भट्टराईले मंगलबार विज्ञप्ति जारी गर्दै भनेका स्वास्थ्यमन्त्री खतिवडाको राजीनामा मागेका छन् । उनले विज्ञप्तीमा भनेका छन् ‘यति झुट बोल्ने व्यक्ति नैतिक रुपमा मन्त्री पदमा बसिरहन अनुचित हुने भएकाले तत्काल राजीनामा गर्न हाम्रो पार्टी माग गर्दछ । साथै, आफ्ना मन्त्रीको यस्तो गैरजिम्मेवार अभिव्यक्ति र व्यवहारप्रति संवेदनशील हुँदै उहाँलाई मन्त्री पदबाट बर्खास्त गर्न प्रधानमन्त्रीको गम्भीर ध्यानाकर्षण गराउँछौँ ।’
मन्त्री खतिवडाले हालै एउटा अन्तवार्तामा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारका बेलामा आफू स्वयम्ले पहिलो खोप पाँच हजार रुपियाँमा ‘किनेर लगाएको’ बताएका थिए ।
भट्टराईद्धारा जारी विज्ञप्तीमा मन्त्री खतिवडाले खोप लगाएको मिति ,अस्पतालको नाम लगायतका प्रमाणहरु उल्लेख गरेको छ । विज्ञप्तीमा भनिएको छ ‘तत्कालीन सरकारले ०७७ फागुन १९ देखि २१ सम्म संघीय संसद्का सदस्यहरुलाई सिभिल अस्पतालमा निःशुल्क खोप उपलब्ध गराएको बेला सिभिल अस्पतालको रजिष्टर ‘ख’ मा क्र।सं। ४८ मा दर्ता गरेर खोप लगाउनुका साथै हस्ताक्षरसमेत गर्नुभएको छ । उक्त अभिलेखमा ६२ बर्षका खतिवडाले ब्याच नं.४१२० जेड ००४ को कोभिसिल्ड खोप लगाएको स्पष्ट छ ।’
विज्ञप्तीमा खोप किनेर लगाएको भन्ने स्वास्थ्यमन्त्री खतिवडाको भनाइ सरासर झुटो र अफवाहपूर्ण भएको बताएको छ ।
प्रतिक्रिया दिनुहोस्