काठमाडौ\ लगातारको वर्षाका कारण देशका अधिकांश भागको जनजीवन समस्यामा परेको छ । वर्षाका कारण पहाडी क्षेत्रमा बाढी र पहिरो गएको छ भने तराईको क्षेत्रमा कटान र डुवानको समस्याले जनजीवन समस्यामा परेको हो । यस्तै लगातारको वर्षाकै कारण पहिरो र कटानका कारण विभिन्न राजमार्ग अवरुद्ध भएका छन् । पहिरोका कारण थाुनिएका राजमार्गहरु खुलाउने प्रयास भई रहेको सम्वन्धित जिल्लाका अधिकारीहरुले बताएका छन् ।
नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध
नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका–६ स्थित कालिखोलामा पहिरो खसेसँगै सडक अवरुद्ध भएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर कार्कीका अनुसार आज बिहान लेदोसहितको पहिरो खसेसँगै सडक दुईतर्फी अवरुद्ध भएको छ । पहिरो पन्छाउन तयारी भइरहेको उनले जानकारी दिए । पहिरोका कारण सडक अवरुद्ध भएसँगै सो सडक भएर गुड्ने सवारीसाधन अलपत्र परेका छन् । यस सडक खण्डमा पटक–पटक पहिरो खस्दै आएको छ ।
राहुघाट–तातोपानी खण्ड बन्द
बेनी–जोमसोम सडकको राहुघाट–तातोपानी खण्डमा रातमा सवारी आवागमन बन्द गरिएको छ । यस खण्डको बैसरीलगायतका क्षेत्रमा पहिरो गई बारम्बार यातायात अवरुद्ध हुन थालेपछि रातको समयमा सवारी आवागमन बन्द गरिएको हो ।
सोमबार जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापाको अध्यक्षतामा बसेको सर्वपक्षीय समन्वय बैठकले ठाउँठाउँमा पहिराको कारण दैनिकजसो सडक आवागमन अवरुद्ध हुने गरेको र जनधनको समेत क्षति हुने जोखिम रहेकाले वर्षायामभरि रातिको समयमा यातायात आवागमन नगर्न अनुरोध गर्ने निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी धिरेन्द्रराज पन्तले जानकारी दिए ।
घुगङ्गा गाउँपालिका–२ बैसरीको अँधेरीखोलामा निरन्तर पहिरो खस्न नरोकिएको र पहिरो खसेर सडक अवरुद्ध हँुदा धेरै सर्वसाधारण र यात्रु अलपत्र पर्ने समस्या आउन थालेपछि रातको समयमा सवारी आवागमनलाई रोक्ने निर्णय गरिएको उहाँले बताउनुभयो । रातको समयमा अत्यावश्यक यात्रा गर्नुपरेमा सुरक्षा निकाय र स्थानीय जनप्रतिनिधिलाई खबर गरेरमात्रै आवातजावत गर्नसमेत आग्रह गरिएको छ ।
काठमाडौ जोड्ने राजमार्ग अवरुद्ध
मकवानपुरमा झरीका कारण पहिरो जाँदा हेटौँडालाई काठमाडौँसँग जोड्ने दुई छोटा राजमार्ग अवरुद्ध भएका छन् । पहिराका कारण कान्तिलोकपथ र मदन भण्डारीमार्ग अवरुद्ध भएको प्रहरीले जनाएको छ । गए राति मकवानपुरको भीमफेदी गाउँपालिका–२ ज्यालटारस्थित मदन भण्डारीमार्ग हेटौँडा–भैसे–भीमफेदी–कुलेखानी–काठमाडाँै सडकखण्डमा पहिराका कारण बाटो अवरोध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
वर्षाका कारण पहिरो खसेर बाटो अवरोध भएको भन्ने जानकारी प्राप्त हुनासाथ उक्त स्थानमा प्रहरी सहायक निरीक्षकको कमाण्डमा टोली खटिगएको तथा रातिमा पानी परिरहेकाले पहिरो हटाउन सक्ने अवस्था नरहेको मकवानपुरका प्रहरी प्रवक्ता टेकबहादुर कार्कीले जानकारी दिएका छन् ।
त्यस्तै गए राति नै मकवानपुरको बकैया–११ लामराङस्थित कान्तिलोक पथ सडकखण्डमा वर्षाका कारण पहिरो खसी दुवैतर्फी बाटो अवरोध भएको प्रहरीले जनाएको छ । उक्त स्थानमा प्रहरीले पहिरो हटाउनका लागि सडक विभागसँग समन्वय गर्दा जोखिमका कारण राति पहिरो हटाउन नसक्ने जानकारी प्राप्त भएको प्रहरी प्रवक्ता कार्कीले बताए ।
घोराही–लमही सडकखण्ड अवरुद्ध
घोराही–लमही सडकखण्ड अवरुद्ध भएको छ । घोराही–लमही सडक खण्डअन्तर्गत लमही नगरपालिका–६ कुलमोहरमा पहिरो खस्दा सडक अवरुद्ध भएको हो । वर्षातका कारण गए राति खसेको पहिराका कारण सडक अवरुद्ध हुन पुगेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक राजन गौतमले जानकारी दिए ।
उनका अनुसार सोमबार पहिरो खसेको ठाउँमा पुुनः आज पनि पहिरो खस्दा सडक अवरुद्ध हुनपुगेको हो । सडक सञ्चालनका लागि पहिरो हटाउने काम भइइरहेको छ । सडक अवरुद्ध हुँदा घोराही–लमही सडकखण्ड भएर चल्ने छोटो तथा लामो दूरीका सवारीसाधन चल्न सकेका छैनन् ।
मध्यपहाडी लोकमार्ग र कालीगण्डकी करिडोर अवरुद्ध
अबिरल वर्षाका कारण राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग र कालीगण्डकी करिडोर अवरुद्ध भएको छ । अबिरल वर्षाका कारण लोकमार्गको बागलुङ–बुर्तिबाङ सडकखण्डअन्तर्गत काठेखोला गाउँपालिका–६ इनारपानी र करिडोरको बागलुङ नगरपालिका–गलुवामा पहिरो झर्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मदन केसीले जानकारी दिए ।
मध्यपहाडी लोकमार्गमा एकतर्फी सडक सञ्चालन गर्ने तयारी गरिएको उहाँको भनाइ छ । गलुवाको पहिरो हटाएर करिडोर सञ्चालन गर्न जेसिबी पठाए पनि त्यसले सडक खुलाउन नसकेको प्रहरी नायब उपरीक्षक केसीले जनाए । उक्त सडक खुलाउन ठूलो डोजर नै पठाउनुपर्ने भएकाले पालिका केही समय लाग्ने जानकारी दिएको उनको भनाइ छ ।
दुई जनाको सकुशल उद्धार
स्याली नदीको बाढीमा फसेका शुक्लाफाँटा नगरपालिका–७ कालापानीका दुई महिलाको गए राति सकुशल उद्धार गरिएको छ । भैँसी चराउन हिरापुरफाँटामा गएका अन्दाजी ३५ वर्षीया गौमती साउद र ४० वर्षीया निर्मला भण्डारीको सशस्त्र प्रहरी, नेपाल प्रहरी र जनप्रतिनिधिको टोलीले उद्धार गरेको हो ।
चुरे क्षेमा अत्यधिक वर्षा हुदा स्याली नदीमा बाढी आएपछि भैँसी चराउन गएका दुवै नदीपारि बस्न बाध्य भएका थिए । नदीमा आएको बाढीका कारण तर्न नसकेर महिला थुनिएको खबर आएपछि सशस्त्र प्रहरीलगायतको सहयोगमा गएराति डोरीको सहायताले उद्धार गरिएको शुक्लाफाँटा नगरपालिका–७ का वडा सदस्य केशवसिंह ठगुन्नाले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्