वीरगञ्ज\ आर्थिक वर्ष २०७९\८० मा धनुषामा ७१ वटा घरेलु तथा साना उद्योग बन्द भएका छन् । सो उद्योग बन्द हुँदा करिब ५ हजार कामदारहरु बेरोजगार भएका छन् । बन्द रहेका उद्योगहरुमा लघु उद्योगतर्फ २८, साना उद्योगतर्फ ४२ र घरेलु उद्योगतर्फ एउटा गरी ७१ उद्योग बन्द भएका हुन् ।
कार्यालयमा गएर आधिकारिक रुपमा उद्योग बन्द गराउनेको संख्या कम रहेपनि नविकरण गर्न नसकेका ७१ उद्योग खारेजीमा परेको जिल्ला स्थित घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख किशोरीशरण यादवले बताए । कोभिड १९ को असर, बैंकको ब्याजदरमा वृद्धि, आर्थिक तरलता जस्ता कारण देखाउँदै उद्योग तथा वाणिज्यतर्फका फर्महरु बन्द हुने क्रम बढ्दै गएको छ ।
यसरी व्यवसायी बन्द भएपछि अहिले जनकपुरधाममा व्यवसायिक सटरहरु खाली गरी व्यवसायी अन्यत्र जान थालेका छन् । अहिले धनुषामा साना उद्योग ५३६, लघु उद्योग ५ सय ९१ र घरेलु उद्योग एक गरी एक हजार ९८ उद्योग सञ्चालनमा रहेका छन् । ती उद्योगहरुबाट महिला पुरुष गरी ६ हजार ९३० कामदारहरु प्रत्यक्ष रुपमा लाभान्वित भइरहेका छन् ।
आर्थिक वर्ष २०७९÷८० मा दर्ता भएका उद्योग मध्ये साना उद्योग ५३६, लघु उद्योग ५५१ र घरेलु उद्योग १ गरी १ हजार १२८ उद्योग दर्ता भई सञ्चालनमा रहेका छन् । सञ्चालनमा रहेका उद्योगहरुको स्थिर र चालु पुँजी ३ अर्ब ५५ करोड ८२ लाख रुपैयाँ रहेका छन् । हाल १७ हजार ५०० उद्योग सञ्चालनमा रहेका छन् । कार्यालयले सोही आर्थिक वर्षमा उद्योगतर्फ ४४ लाख ७५ हजार र वाणिज्यतर्फ ७४ लाख २३ हजार गरी १ करोड १९ लाख ९८ हजार नविकरण लगत कट्टा प्रतिलिपि वापत सो रकम उठाएको नासु मुकेश कर्णले बताए ।
प्रतिक्रिया दिनुहोस्