Ads

कार्यव्यवस्था समितिमा पनि एमसीसी टेबल गर्न सत्तागठबन्धनबाटै अबरोध


काठमाडौं । बुधबार बस्ने संसदको बैठकमा एमसीसी पेस गर्नेबारे संसद्को कार्यव्यवस्था परामर्श समिति बैठकमा पनि सहमति जुट्न सकेन ।

भर्खरै सम्पन्न भएको बैठकमा कानुन न्याय तथा संसदीय व्यवस्था मन्त्री दीलेन्द्रप्रसाद बडूले आजको बैठकमा एमसीसी टेबुल गर्न प्रस्ताव गरे । तर गठबन्धनमा रहेका माओवादी केन्द्र र एकीकृत समाजवादी, जनमोर्चा, सांसदहरुले एमसीसीमा राष्ट्रिय सहमति कायम गरेर मात्रै पेस गर्नुपर्ने अडान राखे । उनीहरुले सहमति कायम नगरी एमसीसी टेबुल गरे विपक्षीमा रहने बताएका थिए ।

यस्तै सभामुख अग्निप्रसाद सापकोटाले पनि एमसीसी राष्ट्रिय महत्व र चासोको विषय भएकाले राष्ट्रिय समहमति कायम गरेर अघि बढ्नु उपयुक्त हुने भएकाले कार्यसूचीमा नराख्ने भनेका थिए ।  यस्तै आजको कार्यव्यवस्थाको बैठक भने प्रमुख प्रतिपक्षी दल एमालेले बहिष्कार गरेको थियो ।

कार्यव्यवस्था परामर्श समितिको बैठक चल्दै गर्दा प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमसीसी आजै संसदमा टेबुल नगर्ने सहमति गरेका थिए ।

माओवादी केन्द्रले भने एमसीसीको विरोधमा आफ्नो भातृ संगठनहरु वाइसीएल, अखिल क्रान्तिकारी लगायतलाई सडक आन्दोलमा उतारिसकेको छ भने एकीकृत समाजवादीले पनि सडक आन्दोलन गरिरहेको छ । यस्तै आजै विप्लव नेतृत्वको नेकपा, मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) लगायत ६ राजनीतिक दलहरुले नेपाल बन्द नै गरेर एमसीसी खारेजीको माग गरेका छन् ।

Ads

सम्बन्धित पोष्टहरू