Ads

कहाँ, कुन कुन सडक अवरुद्ध ?


काठमाडौ\ विभिन्न ठाउँमा आएका बाढी, पहिरो र डुवानले केहि मुख्य राजमार्गहरु अवरुद्ध भएका छन् । केहि सडकहरु भने एक तर्फी रुपमा सञ्चालनमा ल्याईएको छ । देशभर परेको अविरल वर्षाका कारण ३ वटा राजमार्ग ३ ठाउँमा अवरूद्ध रहेको छ । ३८ ठाउँमा एकतर्फीरूपमा सञ्चालनमा रहेको सडक विभागले जानकारी दिएको छ।

पहिराले पटकपटक अवरूद्ध हुँदै आएको मुग्लिन–नारायणगढ सडकखण्ड भने अहिले निर्बाध सञ्चालनमा रहेको सडक डिभिजन कार्यालय भरतपुरले जानकारी दिएको छ। त्यस ठाउँमा पनि शनिबार रातिदेखि नै पानी परेकाले पहिरो खस्ने जोखिम रहेकाले सावधानी अपनाएर यात्रा गर्न सडक डिभिजन कार्यालय भरतपुरले सतर्क गराएको छ ।

सडक विभागका अनुसार अहिले तमोर करिडोरअन्तर्गत चतरा–मुलघाट–माझीटार–अमरापुरडाँडा–गणेशचोक जोड्ने सडक पाँचथरको माझिटारस्थित हेवा खोलामा अवरूद्ध रहेको छ । यस्तै, कालिगण्डकी करिडोरअन्तर्गतको तानसेन–रिडी–कोरला सडक म्याग्दीको बैसरीमा अवरूद्ध रहेको विभागले जनाएको छ ।

रिडी–बालकोट–हंसपुर–प्युठान जोड्ने सडक सल्यानको अश्विनीमा अवरूद्ध रहेको पनि विभागले जानकारी दिएको छ । मनसुनजन्य गतिविधि सुरू भएयता २४ वटा राजमार्गमा क्षति पुगेको विभागको तथ्यांक छ । २४ वटा राजमार्गको १८१ स्थानमा अवरूद्ध भएकामा १४० ठाउँमा दुवैतर्फ सञ्चालनमा ल्याइएको र ३८ ठाउँमा एकतर्फी रूपमा यातायात सञ्चालनमा रहेको विभागले बताएको छ । बाढी–पहिरोका कारण अहिलेसम्म राष्ट्रिय राजमार्ग २ हजार ८३ घन्टा अवरूद्ध भएका अवरूद्ध भएका छन् ।

Ads

सम्बन्धित पोष्टहरू