विराटनगर । मोरङको सुन्दरहरैँचा नगरपालिका १२ मा एक जना भारतीय नागरिकको रहस्यमय मृत्यु भएको छ । भारत उत्तर प्रदेश घर भएका २४ वर्षीय साजिक खानको रहस्यमय तरिकाले मृत्यु भएको अवस्थामा शव भेटिएको हो । खानको शव पैनीमा डुबिरहेको अवस्थामा आइतबार दिउँसो साढे १२ बजेतिर फेला परेको हो । शवको प्रकृति हेर्दा हत्या भएको हुनसक्ने प्रहरीले बताएको छ ।
खानको निधार, मुखलगायत शरीरका विभिन्न भागमा चोट लागेको र शव पोस्टमार्टमका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ । खान इटहरीमा एक उद्योगमा भाँडा वर्तन बनाउने काम गर्थे । घटना शंकास्पद देखिएकाले अनुसन्धान अघि बढाइएको मोरङ प्रहरी प्रमुख एसपी दीपक पोखरेलले बताए ।
प्रहरीको अनुसार खान चार जना साथीसँग शनिवार सुन्दरहरैचा आएको बुझिएको छ । उनको साथी पनि उनीजस्तै भाँडा वर्तन बनाउने काम गर्दै आएका थिए । प्रहरीले मृतक खानको साथीलाई नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया दिनुहोस्