काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अनुसन्धानको क्रममा गलत गरेको भेटिए आफैंलाई पनि पक्राउ गर्न प्रहरीलाई आग्रह गरेको बताएका छन्।
सोमबार पार्टीको बागमती प्रदेश कमिटी बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रचण्डले नाम जोडिए आफैंलाई हत्कडी लगाएर थुने हुन्छ भनेको बताएका हुन् ।
‘महराजीको र उहाँका परिवारका सदस्यहरूको बारेमा मिडियामा आइरहेकै छ, सरकारले कारबाही गर्न भनेको छ’ प्रचण्डको भनाइ उद्धृत गर्दै केन्द्रीय सदस्य युवराज चौलागाईंले भने, ‘खोज्दै जाँदा मेरो नाम आएछ भने मलाई पनि हत्कडी लगाएर थुने हुन्छ भनेको छु ।’
‘अनुसन्धान गर्दै जाँदा प्रचण्डलाई अनुसन्धानको बाटोमा गलत भेटिन्छ भने पक्राउ गर्दा हुन्छ’,प्रधानमन्त्रीको भनाई उद्धृत गर्दै माओवादी बागमती प्रदेश अध्यक्ष सरल सहयात्रीले भने।
सहयात्रीका अनुसार प्रचण्डले अवैध रुपमा सुन भित्रिएको प्रकरणमा पार्टी उपाध्यक्ष कृष्णबहादुर महरा संलग्न भएको पाइए कारबाही गर्न भनेको बताए।
प्रतिक्रिया दिनुहोस्