काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी उपाध्यक्ष कृष्णबहादुर महरा र छोरा राहुलमाथि आजभोलि नै छानबिन अघि बढाउने बताएका छन्।।
प्रधानमन्त्री निवास बालुवाटारमा मंगलवार सम्पादकहरूसँगको कुराकानीमा प्रधानमन्त्री प्रचण्डले पूर्व सभामुख समेत रहेका उपाध्यक्ष महरा र उनका छोरा राहुलमाथि अनुसन्धानको प्रक्रिया अगाडि बढ्न लागेको जानकारी गराएका हुन् ।
‘उहाँहरूमाथि पुन: अनुसन्धान हुन्छ, दोषी पाइए मुद्दा चल्छ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘कि प्रतिवेदनमा नाम हाल्नु हुँदैनथ्यो, नाम हालिसकेपछि उनीहरूमाथि पनि अनुसन्धान गर्नुपर्छ भनेर सीआईबीलाई निर्देशन दिएको छु ।’
भ्रष्टाचारविरुद्ध सरकार निर्मम ढंगले लागेकाले पार्टीको नेता भन्दैमा कसैलाई छुट नदिइने उनले स्पष्ट पारे ।
पूर्व सभामुख महरा र उनका छोरा राहुलले सुन तस्करीका अभियुक्तसँग पटक–पटक फोन संवाद गरेको पाइएको थियो ।
९ किलो सुन रहेको विद्युतीय चुरोट (भेप) छुटाउन समेत महराले भन्सारमा फोन गरेको सार्वजनिक भइसकेको छ । महराले भने अरू नै सामान रोकिएको भनेर चिनियाँ नागरिकले गुनासो गरेपछि आफूले बुझिदिएको बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्