काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धन बचाउन अन्तिमसम्म प्रयास जारी राख्ने बताएका छन् ।
एमसीसीलाई संसदमा टेबल गर्ने र नगर्नेबीच सत्तागठबन्धनमा विवाद रहेको छ । एमसीसी जसरीपनि टेबल गर्नेमा नेपाली कांग्रेस रहेको छ भने अन्य सत्तागठबन्धन यसको विपक्षमा रहेको छ । एमसीसीमा सत्तागठबन्धनमा नै दुई धार देखिएपछि गठबन्धन टुट्ने चर्चा चलेको छ ।
चर्चा चलिरहेको समयमा नै प्रचण्डले गठबन्धन जोगाउने प्रयास गरिरहेको बताएका छन् ।
नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालसँग सिंहदरबारमा भेटवार्ता गरेपछि सञ्चारकर्मीलाई उनले पाँचै दललाई एक बनाउने प्रयास भइरहेको बताए।
एमसीसीलाई तत्काल संसदमा लैजान नहुने पक्षमा कांग्रेसबाहेकका दल एकातिर उभिएपछि गठबन्धन टुट्ने सम्भावना रहेको चर्चा चलेको छ । आज बिहान मात्र प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेका थिए । देउवालाई भेटेर तीन बजे बस्ने भनिएको गठबन्धनको बैठक पाँच बजे सारेका थिए । दिउसो प्रचण्ड र नेपालबीच छलफल भएको हो।
प्रचण्डले एमसीसीका विषयमा छलफल गरेर निकास निकाल्ने प्रयास भइरहेको पनि बताएका छन्।
५ बजे गठबन्धनको बैठक बस्दै छ । त्यसको पूर्वसन्ध्यामा प्रचण्ड र माधव नेपालजीसँग भेट भएको छ। सरकारबाट माओवादी र नेकपा एस बाहिरीन्छ कि भन्ने हल्लाकाबीच उनले भने ‘हामी तीन दललाई एक बनाउने भनेर लागेकै छैनौँ , पाँचै दललाई एक बनाउने र यो एमसीसीलाई कसरी निकास दिने भन्नेमै छौँ।’
पाँच दलको बैठकमा छलफल गरेर अहिलेलाई निकास निकाल्नेतिर जोड रहेको बताए ।
प्रतिक्रिया दिनुहोस्