विराटनगर । झापाको मेचीनगर नगरपालिका – ८ मुनियाँटोलका ३५ वर्षीय सुन्दरीलाल किसानको हत्या आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मुनियाँटोलका ५६ वर्षीय रामजी किसान र ४८ वर्षीय सुनरसी किसान छन्। उनीहरू दाजुभाइ हुन्।
बिहीबार हत्या गरिएको अवस्थामा सुन्दरीलाल किसानको शव मुनियाटोलस्थित हौलीपैनी कल्भर्ट छेउमा भेटिएको थियो।
मर्निङ वाक गएका स्थानीयले बाटोमा रगत छरिएको देखेपछि प्रहरीलाई खबर गरेका थिए।
त्यसपछि इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट डिएसपीको कमान्डमा प्रहरीको टोली खटिएको थियो। घटनास्थल वरिपरि प्रहरीले फलामको रडबाट बनेको खन्ती बाँगिएको अवस्थामा र एक जोर सेतो रंगको चप्पल फेला पारेको थियो।
सुन्दरलाल किसान अघिल्लो रातदेखि फर्किएर नआएको भन्ने सूचना प्रहरीले पाएको थियो। सुन्दरलालकी श्रीमतीलाई प्रहरीले चप्पल देखाउँदा उनकै हो भनेर सनाखत समेत गरेकी थिइन्।
प्रतिक्रिया दिनुहोस्