Ads

जुट्ला विश्वासको मत ? मन्त्री र १० करोडको अफर– लिङ्देन


काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले सोमबार प्रदेशसभाबाट विश्वासको मत लिँदैछन् । यस अघि समेत मुख्यमन्त्री नियुक्त भएका उनको प्रकृयानै संवैधानिक भएको ठहर पछि पुनः दोश्रो पटक नियुक्त भएका उनलाई यस पटक समेत विश्वासको मत लिन कठिन देखिएको छ ।

मुख्यमन्त्रीले विश्वासको मत लिने दिन विपक्षी एमालेले उपसभामुख सिर्जना दनुवार र अन्य आफ्ना प्रदेशका ज्येष्ठ सदस्यलाई अनुपस्थित गराएर सत्तापक्षकै सदस्यबाट बैठकको अध्यक्षता गराउने परिस्थिति सिर्जना गरेर अप्ठ्यारो पार्ने बुझेपछि सत्तापक्षले एकैदिन विश्वासको मत लिने र प्रतिस्थापन विधेयक प्रस्तुत गर्ने रणनीति समेत बनाएको छ । एमाले नेतृत्वकै सरकारको पालामा अध्यादेशमार्फत चालु आर्थिक वर्षको बजेट ल्याएकाले अध्यादेशको प्रतिस्थापन विधेयकमा सरकारलाई सहयोग गर्नुपर्ने नैतिक दायित्व छ ।

एकै दिन दुवै प्रस्ताव प्रदेश सभामा प्रस्तुत हुँदा एउटामा बैठकको अध्यक्षता गर्ने तर अर्कोमा भाग्न अप्ठ्यारो पर्ने भएकाले प्रतिपक्षलाई दबाबमा पार्ने सत्तापक्षको दाउ छ । मुख्यमन्त्री थापाले विश्वासको मत पाउन ४७ जना प्रदेश सभा सदस्यको समर्थन चाहिन्छ । सत्ता गठबन्धनमा सबै दलको संख्या जोड्दा बहुमत ४७ पुग्छ । सत्तापक्षले नै सभाको अध्यक्षता गर्ने परिस्थिति बनाउन सके मुख्यमन्त्रीले विश्वासको मत नपाउने भएकाले एमाले उपसभामुख दनुवार र ज्येष्ठ सदस्यलाई अनुपस्थित गराउने पक्षमा देखिएको छ ।

१० करोड अफर गरिएको खुलासा

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले कोशी प्रदेशमा विश्वासको मत माग्न १० करोड अफर गरिएको खुलासा गरेका छन् । सामाजिक सञ्जालमार्फत अधयक्ष लिङ्देनले सत्ता पक्षले विश्वासको मतका लागि मन्त्री पद र १० करोड अफर गरिरहेको बताएका हुन् ।

उनले लेखका छन्, ‘पूर्वमा विश्वासको मत लिने दिनको टुंगो भएसँगै खरिदेहरू प्रदेशसभा सदस्यहरूको घरदैलोमा गएर मन्त्री र १० करोडको प्रस्ताव गर्दैछन् भन्ने हल्ला काठमाडौं सम्मै आइपुग्यो त ।’ कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले भदौ ४ गते प्रदेश सभाबाट विश्वासको मत लिँदै छन् ।

Ads

सम्बन्धित पोष्टहरू