Ads

प्रधानन्यायाधीशमा विश्वम्भरप्रसाद श्रेष्ठको नाम सर्वसम्मतिले अनुमोदन


काठमाडौं । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा विश्वम्भरप्रसाद श्रेष्ठको नाम सर्वसम्मतले अनुमोदन गरेको छ।

सिंहदरबारमा सोमबार संसदीय सुनुवाइ समितिमा उनको संसदीय सुनुवाइ भएको थियो।। अब राष्ट्रपतिले उनलाई नियुक्त गरेपछि कार्यभार सम्हाल्ने छन् ।

उनीविरुद्ध समितिमा तीन वटा मात्र उजुरी परेका थिए । उजुरीकर्ताहरुसँगको छलफलपछि सोमबारै श्रेष्ठको सुनुवाइ भएको हो । प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठले अदालतमा बिचौलियाको प्रभाव रहेकाले त्यसलाई नियन्त्रण गर्नका लागि आफू कठोर भएर लाग्ने प्रतिबद्धता समितिमा गरेका छन् ।

श्रेष्ठले १४ महिना सर्वोच्च अदालतको नेतृत्व गर्नेछन्। ०१६ असोज २० मा डोटीको सिलगढीमा जन्मेका श्रेष्ठ ०३८ सालमा शाखा अधिकृतका रूपमा न्याय सेवामा प्रवेश गरेका थिए ।

त्यसको ६ वर्षमै जिल्ला न्यायाधीश भएका उनी ०६२ मा तत्कालीन पुनरावेदन अदालत बाग्लुङको न्यायाधीश भए। ०७० मा पुनरावेदन अदालत पोखराको कायममुकाम मुख्य न्यायाधीश भएका उनी ०७१ मा पुनरावेदन अदालत हेटौंडाको मुख्य न्यायाधीश भएको करिब दुई वर्षपछि ०७३ साउन १७ मा सर्वोच्च अदालतमा नियुक्त भएका हुन्।

उनले ०८१ असोज २० मा ६५ वर्षे उमेरहदका कारण अवकाश पाउने छन्। संविधानमा प्रधानन्यायाधीश हुनका लागि सर्वोच्च अदालतमा कम्तीमा तीन वर्ष न्यायाधीश भएको हुनुपर्ने योग्यता तोकिएको छ।

Ads

सम्बन्धित पोष्टहरू