यतिबेला मुलुकका अधिकांश भेगमा आँखा पाक्ने रोगको संक्रमण व्यापक रूपमा फैलिएको छ । काठमाडौंका अस्पतालमा मात्र नभई देशका अन्य अस्पतालमा पनि यो रोगबाट प्रभावित बिरामीहरूको चाप निकै नै बढेको छ । यो समस्याका कारण कतिपय स्थानीय तहका विद्यालयहरूमा पठनपाठन ठप्प भएका छन् । मानिसको संवेदनशील अङ्ग मानिने आँखामा लाग्ने यस रोग डरलाग्दो नभए पनि हप्ता दिनसम्म आँखा हेर्न कठिनाइ गर्ने हुँदा मानिसको दिनचर्यामा असर हुने गरेको छ । छिट्टै एक मानिसबाट अर्को मानिसमा सर्ने भएकाले पनि यो रोगको संक्रमणबाट धेरै जना प्रभावित बनेका छन् ।
अहिले आँखा पाक्ने रोग अधिकांशमा भाइरल इन्फेक्सनका रूपमा देखिएको चिकित्सकले बताएका छन् । उनीहरूका अनुसार सामान्यतया रुघाखोकी जस्तै यो रोग दुई साताभित्र आफैँ निको हुने वरिष्ठ आँखा रोग विशेषज्ञ डा सुमनशम्शेर थापा बताउँछन् । चौबिस वर्षदेखि जलविन्दु तथा मोतिविन्दुको विशेषज्ञका रूपमा काम गर्दै आएका डा. थापा २३ वर्षसम्म तिलगङ्गा आँखा अस्पतालमा कार्यरत थिए । अहिले राजधानीको थापाथलीस्थित एक एक पाइला सामुदायिक स्वास्थ्य केन्द्रमा रहेर सेवा गरिरहेका छन् । उनै थापासँग देशभर संक्रमणका रूपमा फैलिएको आँखा पाक्ने रोगका कारण, यसबाट बच्न अपनाउनुपर्ने सावधानीदेखि उपचारका बारेमा गरिएको कुराकानीको सम्पादित अंश :
केही समयदेखि देशभर आँखा पाक्ने रोगको संक्रमण फैलिएको छ, यसको कारण के होला ?
आँखा पाक्ने समस्या नेपालमा प्रायः हरेक वर्ष फैलिन्छ । बर्सातको मौसममा यो समस्या बढी देखिन्छ । अहिले देशैभरि विभिन्न जिल्लाहरूमा देखिएका छन् र बिरामीहरू उपचार खोज्दै अस्पतालहरूमा पुगेका छन् । काठमाडौंलगायत धेरै भागमा आँखा पाक्ने रोग यो झरीको मौसमसँगै व्यापक रूपमा देखिएको छ । एलर्जी, ब्याक्टेरिया र भाइरसका कारण यो रोग हुने गर्दछ । यो एडिनो भाइरसको संक्रमणका कारण देखिने समस्या हो । यसले आँखाको सेतो भागको सतहमा हुने झिल्लीलाई संक्रमित गर्दछ । यो समस्यालाई चिकित्सा भाषामा कन्जङ्किटभाइटिस भनिन्छ भने आम भाषामा आँखा पाकेको भनिन्छ । यो एउटा आँखाबाट अर्कोमा वा एक मानिसबाट धेरै जनामा तीव्र गतिमा फैलिन्छ । यो भाइरसको कारणले बिरामीको सम्पर्कमा आएको एक दुई दिनभित्रै अत्याधिक छिटो संक्रमण हुने रोग हो ।
यो रोगका लक्षणहरू के के हुन् ?
आँखा पाक्दा बिरामीहरूमध्ये केहीको आँखा रातो हुन्छ । निरन्तर आँसु बग्छ र कचेरा जम्छ । कतिपयलाई भने आँखै खोल्न गाह्रो हुन्छ वा उज्यालोमा हेर्न सकस पर्न सक्छ । आँखा बिझाउँछ । रोगका भाइरस आँखामा संक्रमित भएपछि बिस्तारै आँखा रातो हुँदै जान्छ । आँखाको डिल सुन्निन थाल्छ । बिहान उठ्दा चिप्रा पर्छ । आँखा झिम्काउँदासमेत अप्ठेरो हुन्छ र आँसु धेरै बग्छ । एउटामात्र आँखामा देखिएको समस्या अर्को आँखामा सर्छ । आँखा गोलभेँडाजस्तो रातो हुने, आँसु आउने, चिप्रा आउने, परेला सुन्निने, आँखामा बालुवा पसेजस्तो बिझाउने हुनसक्छ । यस भाइरसको कारण कतिपयलाई टाउको र घाँटी दुख्ने, ज्वरो आउने र कसैकसैलाई कानको अगाडिको भाग सुनिनेजस्ता समस्या पनि आउन सक्छ ।
यो रोगले आँखालगायत शरीरको अन्य भागमा पनि असर पुर्याउँछ कि ?
आँखा पाक्ने रोग हेर्दा जति डरलाग्दो देखिए पनि आत्तिनु पर्दैन । यद्यपि यसको असर कसैकसैलाई दुई हप्तासम्म पनि रहनसक्छ । भाइरस कन्जङ्किटभाइटिसमात्र भयो भने यसले दीर्घकालीन असर पार्दैन तर भाइरसको संक्रमण क्षमता उच्च छ तर संक्रमित मानिसको रोग प्रतिरोधात्मक क्षमता कमजोर छ भने त्यसले आँखाको सेतो भागको सतहमा हुने झिल्लीमात्र नभएर नानीलाई पनि असर गर्न सक्छ । ‘कर्निया’मा पनि असर गर्ने भएकाले त्यसले फुलो पार्न सक्छ । फुलो पर्नु भनेको मानिसको दृष्टि कमजोर हुनु हो । संक्रमण निको भएपश्चात् प्रायः आँखामा नराम्रो असर नरहने भए पनि कसैकसैको आँखाको नानीमा केही मात्रामा असर रही दृष्टिमा न्यून असर पर्न सक्छ । यतिबेला आत्तिएर होइन, सजग रह्यौँ भने यस रोगबाट चाँडै नै मुक्ति पाउन सकिन्छ ।रोग लागिसकेपछि कसरी
छिटोभन्दा छिटो निको पार्न सकिन्छ ?
संक्रमित व्यक्ति भीडभाडमा नजाने, विद्यार्थी भए केही दिन स्कुल वा कलेज नजाने, चिकित्सकको सल्लाहबमोजिम औषधि हाल्ने, कालो चस्मा लगाउने जस्ता विधिहरू अपनाउनु पर्छ । संक्रमितले आँखाको सरसफाइमा ध्यान दिनुपर्छ । दिनमा दुई/तीन पटक सफा पानीले आँखा सफा गर्नुपर्छ । नरम खालको कपडा प्रयोग गर्नुपर्छ । संक्रमितले हरेक पटक आँखा छोएपछि साबुन पानीले हात धुनु पर्छ । बिरामीले प्रयोग गरेको धारा, ढोकाको चुकुल, रुमाललगायत सामग्रीहरू अरूले प्रयोग नगर्ने वा गर्नै परे राम्ररी साबुनपानीले धोएर मात्र प्रयोग गर्नुपर्छ ।
यो रोगबाट कसरी बच्न सकिन्छ ?
धेरैलाई आँखा पाकेको बिरामीलाई देख्दा आफूलाई पनि सर्यो भन्ने भ्रम छ, त्यो होइन । बिरामीको आँखा हेरेर सर्दैन । हावा वा आमनेसामने बस्दैमा सर्ने रोग यो होइन । तर, संक्रमितको आँखाबाट निस्कने आँसु वा चिप्राले संक्रमण सार्छ । औषधि हालिदिने सहयोगीले राम्रोसँग साबुनपानीले हात धुनु पर्छ । शरीरमा रोग प्रतिरोधात्मक क्षमता कमजोर भएको स्थितिमा यसले चाँडो संक्रमण गर्नसक्ने भएकाले पोसिलो खाना खानुपर्छ । रोग प्रतिरोधात्मक क्षमता कम भएकाहरूलाई यस भाइरसले चाँडो पक्रने भएकाले वृद्धवृद्धा र बालबालिकाले विशेष सुरक्षा अपनाउनु पर्छ ।
यो रोगको ध्यान दिनुपर्ने मुख्य कार्यमा बिरामीले आँखा नछुने, बिरामीलाई औषधि हाल्न वा अन्य कामले छोएमा राम्रोसँग हात धुने, चिकित्सकको निगरानीमा मात्र औषधिहरू प्रयोग गर्ने र अरूलाई यो रोग सर्न नदिन सजग हुने कार्य गर्नुपर्दछ । बिरामीलाई अलग्गै बस्ने, सुत्ने गर्नुपर्छ । घरबाहिर निस्कनु परेमा कालो चस्मा प्रयोग गर्न सकिन्छ । संक्रमितको वरपर बस्ने मानिसहरू पनि उत्तिकै सजग भएर सतर्कता अपनाउनु पर्छ । विद्यालयका बालबालिकामा छिटो सर्ने हुँदा अभिभावक र शिक्षक सचेत हुनुपर्छ । विद्यालय नै बन्द गर्नुभन्दा बिरामीलाई दुई/चार दिन विद्यालय नआउन भन्ने वा अलग्गै राख्न सकिन्छ तर ठूलो संख्यामा बिरामी बढेमा बन्द गराउनु पनि पर्नसक्छ ।
यतिबेला देशका कतिपय ठाउँमा बिरामीले औषधि नपाएको भन्ने गुनासो पनि आएका छन् नि ?
हो मैले पनि कतिपय ठाउँमा बिरामीले औषधि नपाएको भन्ने गुनासो गरेको सुनेको छु । यो एकदमै नराम्रो कुरा हो । यसरी देशभरि नै संक्रमणका रूपमा फैलिएको यस रोगबाट छिटोभन्दा छिटो मुक्ति पाउनका लागि सबैले सक्दो सहयोग गर्नुपर्ने बेलामा नाफाका लागि औषधि लुकाउने काम भएको छ भने त्यो निकै ठूलो अपराध हो । कसैले त्यस्तो गलत काम गरेको छ भने त्यस्ता मानवताविरोधी काम नगर्नुहोला । र राज्यले पनि यसमा निगरानी बढाएर गलत कार्य गर्नेलाई कारबाही गर्ने र साँच्ची नै औषधिको अभाव भएको ठाउँमा तत्काल औषधि पठाएर बिरामीलाई आश्वस्त तुल्याउनुपर्छ ।
अझै कति दिनसम्म यस रोगको संक्रमण रहिरहन्छ ?
यो मौसमसँग सम्बन्धित रोग हो । ह्युमडिटी कम भएपछि विस्तारै कम हुँदै जान्छ । सामान्यतः अझै दुई सातासम्म यसको संक्रमण रहनसक्छ ।
यो रोगमा अस्पताल नै जानुपर्ने हो कि घरमै पनि उपचार गर्न सकिन्छ ?
आँखा पाकेको लक्षण देख्नेबित्तिकै अघि भनेअनुसार सावधानी अपनाउँदै आँखाको उचित हेरविचार गर्नुपर्छ । चिसोले सेक्नु र आँखा धेरै रातो भएको खण्डमा साधारण खालको एन्टिबायोटिक थोपा लगाएर घरमै उपचार गर्न पनि सकिन्छ । आत्तिएर अस्पताल दौडिहाल्नुपर्ने वा अनेक औषधि प्रयोग गरिहाल्नु पर्दैन । तीनदेखि चार दिनपछि र अधिकतम पाँच दिनसम्म समस्या कम भएन भने अस्पताल जानु पर्छ । उज्यालोमा हेर्नै गाह्रो भयो भने तत्काल चिकित्सकको परामर्शअनुरूप अन्य जटिलता पहिचान गर्न परीक्षण गराउनु पर्छ । आफूखुसी औषधि प्रयोग गर्नु भने हुँदैन, चिकित्सकको रायअनुसार औषधोपचार गराउनु पर्छ ।
नेपालमा आँखा रोगको समस्या कस्तो पाउनुहुन्छ ?
नेपालमा आँखासम्बन्धी रोग एउटा क्रोनिक रूपमा र अर्को नसर्ने खालको पाइन्छ । उमेर बढ्दै जाँदा जलविन्दु र मोतिविन्दुको समस्या देखिन थाल्छ । मोतिविन्दुको समस्या त धेरै कम भएको छ । मधुमेह, रक्तचापका बिरामीमा पनि आँखाको समस्या धेरै छ । पछिल्लो समय जीवनशैलीका कारण कम उमेरमै यी समस्या बढ्न थालेको छ ।
आँखा रोग विशेषज्ञ र उपचार सेवाको अवस्था कस्तो छ नि ?
नेपालमा औसत जनसंख्याको अनुपातमा आँखा रोग विशेषज्ञको संख्या निकै न्यून छ । हाल करिब तीन सयको संख्यामा विशेषज्ञ छन्, जबकि एक हजारभन्दा बढी हुन आवश्यक छ । विशेषज्ञसहितका आँखा अस्पतालहरू पनि राजधानी बाहिर निकै कम छ । अस्पतालहरूमा रहेका प्राथमिक आँखा उपचार केन्द्रहरूको स्तरोन्नति गर्न सकिएमा र कम्तीमा महिनामा एकपटक विशेषज्ञहरूमार्फत केन्द्रमा नै शल्यक्रिया गर्न सकिएमा धेरै बिरामीले राहत पाउने थिए । यसतर्फ राज्यले ध्यान दिनु जरुरी छ ।
प्रतिक्रिया दिनुहोस्