Ads

नेपाली क्रिकेट टोली पाकिस्तान प्रस्थान


काठमाडौं । एसिया कप क्रिकेटका लागि नेपाली क्रिकेट टीम मंगलबार राति पाकिस्तानतर्फ प्रस्थान गरेको छ । एसिया कप क्रिकेट भदौ १३ गतेदेखि पाकिस्तान र श्रीलङ्कामा आयोजना  हुने भएपनि केही अभ्यास खेल खेल्न नेपाली क्रिकेट टोली पाकिस्तान प्रस्थान गरेको हो ।

नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली टोलीलाई सफलताको शुभकामना दिँदै बिदाई गरेको छ । यही भदौ १३ देखि ३१ गतेसम्म पाकिस्तान र श्रीलङ्कामा आयोजना एसिया कपमा सहभागिता जनाउन जाने नेपाली टोली मंगलबार राति प्रस्थान गरेको हो । नेपालले एसिया कप क्रिकेटमा सहभागी हुनुअघि केही अभ्यास खेल पाकिस्तानमा खेल्ने छ । पहिलोपटक एसिया कपमा छनोट भएको नेपाल समूह ‘ए’ मा रहेको छ । नेपालको समूहमा भारत र पाकिस्तान छन् । समूह ‘बी’मा श्रीलङ्का बङ्गलादेश र अफगानिस्तान रहेका छन् ।

नेपालले १३ गते उद्घाटन खेल पाकिस्तानसँग खेल्नेछ। दोस्रो खेल १८ गते भारतसँग भने श्रीलंकामा खेल्नेछ । बिदाइ कार्यक्रममा नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक मोन्टी देशाइले उक्त प्रतियोगिताको लागि आफू निकै सकरात्मक रहेको बताउँदै प्रतियोगितामा जित हासिल गर्ने विश्वास व्यक्त गरे ।

तर उक्त खेल खेल्न सन्दीप लामिछाने भने गएका छैनन् । नाबालिग बलात्कार आरोपमा उनीविरुद्ध चलिरहेको मुद्दाको फैसला हुन नसकेपछि उनी पाकिस्तान जान नसकेका हुन् । टोलीमा आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, भीम सार्की, दीपेन्द्र सिंह ऐरी, करण केसी, गुलशन झा, सोमपाल कामी, किशोर महतो, प्रतिश जिसी, श्याम ढकाल, सन्दीप जोरा, ललित राजवंशी र अर्जुन साउँद छन् ।

Ads

सम्बन्धित पोष्टहरू