काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् मनेपाल सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले सञ्चार क्षेत्रलाई स्वतन्त्र र उन्नत बनाउन सरकार प्रतिवद्ध रहेको बताएका छन् ।
राष्ट्रिय समाचार समिति राससको ६१औँ वार्षिकोत्सवका अवसरमा शुभकामना दिँदै मन्त्री कार्कीले सरकार प्रेसलाई सङ्कुचन गर्ने कुनै मनसाय नराखी स्वच्छ आलोचनालाई आत्मसात् गरेर अघि बढिरहेको उल्लेख गरेका छन् । सरकार राष्ट्रियता, भौगोलिक अखण्डता, राजनीतिक स्थिरता, संविधानको रक्षा, सन्तुलित विदेश नीति, सुदृढ र सबल अर्थतन्त्र, दिगो विकास, स्वतन्त्र न्यायालय, सुशासन, मानवाधिकार र प्रेस स्वतन्त्रताका पक्षमा दृढ रहेको बताउँदै सरकारलाई मुलुकका सबै आमसञ्चारमाध्यमबाट पूर्णसहयोग प्राप्त हुने विश्वास शुभकामनामा व्यक्त गरिएको छ ।
मन्त्री कार्कीले राज्यको एक मात्र समाचार समितिका रूपमा अविच्छिन्न सेवारत रही सञ्चारमाध्यमलाई समाचार सम्प्रेषण गर्दै आएको रासस समयानुकूल सशक्त र प्रभावकारी स्रोतका रूपमा प्रस्तुत हुनुपर्ने बताएका छन् । मन्त्री कार्कीले राष्ट्रिय एकता, लोकतान्त्रिक मूल्यमान्यताको संवद्र्धन र नेपालीको समृद्धिका लागि राससको आवश्यकता अझ बढ्दै गएको सन्दर्भमा सङ्घीय सरकारबाट आवश्यक सहयोग र समन्वय हुने विश्वास व्यक्त गरेका छन् ।
मन्त्री कार्कीले स्थानीय तहको निर्वाचन मिति घोषणा भई निर्वाचन कार्यक्रम तदारूकताका साथ अघि बढिरहेको, सङ्घीय एवम् प्रादेशिक निर्वाचनसमेतको समयावधि कम रहेको र निर्वाचन प्रक्रियामा सक्रियताका साथ भाग लिन जिम्मेवार राजनीतिक दल, आमजनता तम्तयार रहेका अवस्थामा जवाफदेही सकारात्मक, रचनात्मक समाचार सम्प्रेषण गर्न आमसञ्चारमाध्यम र सञ्चारकर्मीलाई अनुरोध गरेका छन् ।
मन्त्री कार्कीले राससले निकट भविष्यमा नै श्रव्यदृश्यलगायत समाचारको एकीकृत सेवा सञ्चालन गर्न लागेकोमा खुसी व्यक्त गर्दै सो सम्बन्धी सामग्रीबाट देशभर सञ्चालित रेडियो र टेलिभिजन थप लाभान्वित हुने छन् भन्ने विश्वास व्यक्त गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्