राधा पौडेल, नेपाली साहित्यजगतमा यो नाम प्रसिद्ध छ । २०७० सालमा मदन पुस्कार हात पारेकी उनी ३० को दशकमा चितवनमा जन्मिएकी थिइन् । पेसाले उनी नर्स हुन् । उनको जीवनमा विद्रोही चेत र आदर्शवादी दृष्टिकोण अन्तरघुलित पाइन्छ । त्यसो त उनी लेखकमात्र नभएर सामाजिक अभियन्ता पनि हुन् । पहिलो कृति ‘खलंङ्गामा हमला– एउटी नर्सको डायरी’ले मदन पुरस्कार पाएपछि उनको व्यक्तित्वले झनै उचाइ लियो ।
उनै पौडेलसँग गरिएको भलाकुसारी :
१) बाल्यकालदेखि नै तपाईंमा विद्रोही चेत किन झाँगियो ?
– मेरो स्वभाव अलि धेरै प्रश्न गर्ने खालको थियो । विद्रोही मात्र होइन आदर्श स्वभाव पनि छ । लक्ष्मीप्रसाद देवकोटाले आफ्नो कोट नै खोलेर दिएका थिए । त्यस्तै भानुभक्त आचार्यले घाँस काटेर कुवा खनाउने मान्छेको बारेमा कविता लेखेका थिए । यस्तो सुन्दा, ओहो ! मान्छे सामाजिक काममा कति धेरै तत्पर हुँदो रहेछ भन्ने लाग्थ्यो । पहिले हामीहरूलाई सिकाइन्थ्यो नि, ठूलोलाई आदर गर्नुपर्छ, सानोलाई माया गर्नुपर्छ भन्ने । त्यो सुनेदेखि नै मैले बहिनी र भाइलाई अथाह माया गर्थें, पहिले उनीहरूको इच्छा पूरा गरेर मात्र मैले आफ्नो बारेमा सोच्थेँ । आफू रित्तिएर पनि अरूलाई सहयोग गर्न पाउँदा मलाई औधी खुसी मिल्छ । यो हिसाबमा नरम स्वभाव पनि छ । तर कोही दुःखमा छ या हिंसामा छ भने निडर भएरैै विद्रोह गर्ने आदत सानैदेखि छ । छोरा र छोरीमा समाजले किन फरक दृष्टिकोण राख्छ भन्ने कुरा सानैदेखि मेरो मनमा खेलिरहन्थ्यो । यो कुराले पोल्थ्यो पनि ।
त्यतिबेला जुटाएको एउटा सहास सम्झिादा अझैँ पनि शरीरका रौँ उचालिन्छन् । पहिलो पटक महिनावारी हुँदा म घरबाट भागेकी थिएँ । घरमा बस्यो भने २१ दिन सम्म मलाई बन्द कोठामा राख्छन् भन्ने डरले म नसोधेरै दिदीको घर हानिएँ ।
अर्को एउटा कुरा, यो मैले आजसम्म कतै भनेको छैन । पहिलो पटक खबरपोष्टलाई भन्दैछु । मेरी आमा बिरामी हुनुहुन्थ्यो । निकै । बुबाले आमाको उपचार नगराउनुभएको पनि होइन । तर पनि मलाई त्यतिबेला बुबाप्रति शङ्का उत्पन्न भएर मैले मेरो साथी शान्ता अधिकारीको नामबाट एउटा पत्र लेखेँ– जग्गा बेचेर भएपनि आमालाई औषधि–उपचार गराउनु प¥यो भनेर । शान्तालाई मेरो परिवारले धेरै विश्वास गर्ने हुँदा मैले उसकै नामबाट बुबालाई पत्र लेख्ने ‘साहस’ गरेको थिएँ । यो कुरा मेरो साथीलाई पनि थाहा थिएन । जे होस् बुबाले आमाको निकै ख्याल गर्नुहुन्थ्यो ।
२) भनेपछि बाल्यकाल रमाइलै परिवेशमा बित्यो ?
– हामी ६ सन्तान । ५ दिदीबहिनी पछि एउटा भाइ जन्मिए । बुबाआमाको जागिर थिएन, खेतीकिसानी गर्नुहुन्थ्यो । बुबाले दूध बेच्नुहुन्थ्यो । हामीले दाउरा घाँस, ज्यालामजदुरी पनि ग¥यौँ । अभावहरूले पछ्याइरहे लालटिन पनि थिएन, पढ्नलाई । टुकी बाल्ने मट्टितेल नभएर कैयौँ पटक आमाले कपासको बत्ती बनाउँदै स–सानो कचौरा, प्लेटमा राखिदिनुहुन्थ्यो । त्यही उज्यालोमा शिक्षा देखेका हौँ हामीले । प्रविधिको विकास नभएकाले दुःख त सबैलाई थियो । तर हाम्रो परिवारमा छोरी धेरै हुनु र गरिब हुनुले धेरै फरक पा¥यो । अभाव चिनियो भनौँ न ।
३) तपाईंले चितवनमै नेपाल सरकारको स्थायी जागिर पाउँदा पनि जुम्ला रोज्नुभयो, किन ?
– यसको इतिहास धेरै लामो छ । बाल्याकालबाटै बुबाले भनेका कुरा सुनेर मेरो दिमाग यसरी कब्जा भयो कि, जुम्ला जाने हुटहुटीले मलाई चितवन बस्नै दिएन । मैले केही कुराको माग गर्दा र अभाव छ भन्ने महसुस गर्दा बुबाले धेरै पटक हाम्रो परिवारमा गरिबी छैन, अभाव र गरिबी त जुम्लामा छ भनिरहनुहुन्थ्यो । वास्तवमा त्यसबेलादेखि नै जुम्लाको गरिबीको चित्र मेरो मानसपटलमा घुमिरह्यो ।
पछि मैले पोखरामा स्टाफ नर्स पढ्दै गर्दा महिलाहरूले भोगिरहेका वर्णनातीत दुःख बलात्कृत भएर आएका घटनाहरू र त्यहाँ विद्यमान कतिपय अन्धविश्वास देखेँ । विकसित भनिएको पोखरामा त यस्तो छ भने साँच्चै जुम्लामा के होला भन्ने लाग्यो । पोखरा र भरतपुर जस्तो ठाउँमा महिलाहरूले भोगेको पीडा देखेर मलाई जुम्लाले तानिरह्यो । पहिले निवेदन दिएर कामको लागि जुम्ला जाने भएपछि मात्रै मैले घरमा थाहा दिएकी थिएँ । मेरो बुबा कडा स्वभावको हुनुहुन्थ्यो त्यसैले मैले आफै जान्छु भन्न नसकेर जागिरको बाहानामा गएँ ।
४) परिचारिका राधा नेपाली साहित्यमा कसरी हेलिन पुगिन् ?
– मलाई हरेक कुरामा प्रथम नै हुनुपर्छ भन्ने बालमनोभाव थियो । जसका कारण म विद्यालयका हरेक कार्यक्रममा सहभागी हुन्थेँँ । खास कुरा के छ भने, स्टाफ नर्स पढ्दै गर्दा २ महिनाको लागि हामी केही साथीहरू कास्कीको बाटुलेचौर भन्ने ठाउँमा बस्यौँ र हामिहरूले ह्याङजामा नाटक मन्चन गरेर देखायौँ । त्यस नाटकको कथा लेख्ने, निर्देशन गर्ने र सानो भूमिकामा म आफै थिएँ । नाटक सकिएर बाहिर निस्कदा धेरै दर्शकहरू रोएको देखेँ । त्यसपछि मैले पनि लेख्न सक्ने रहेछु, मान्छेलाई आफ्नो लेखाइबाट प्रभाव पार्न सक्ने रहेछु भन्ने आत्मविश्वास जागृत भयो । मैले देखेका, भोगेका विषयलाई डायरीमा लेख्ने बानी थियो । जसका कारण म विस्तारैविस्तारै साहित्यतर्फ आकर्षित भएँ ।
५) ‘खलंङ्गामा हमला–एउटी नर्सको डायरी’ : जुम्लाको परिवेशले जन्माएको कृति हो ?
– द्वन्द्वकालीन समय । २०५९ साल कार्तिक २८ गते माओवादीले जुम्ला सदरमुकाम खलंगामा गरेको आक्रमणको विषयलाई लिएर यो कृति तयार भएको छ । त्यस आक्रमणमा चार सेना, २० प्रहरी, १९ माओवादी र दुई स्थानीय गरेर ४६ जनाले ज्यान गुमाए । आक्रमण भैरहेका बेला म जिल्ला अस्पतालमा नर्सका रूपमा कार्यरत थिएँ । मेरो कोठाका भित्ताहरूमा पनि गोली बर्सिएको थियो । त्यो रात मैले पुनर्जीवन पाएको हो जस्तो लाग्छ ।
६) तपाईंको अर्को कृति अ पवित्र रगतका बारेमा पनि भनिदिनुहोस् न !
– महिनावारीको विषयलाई केन्द्रित गरेर यो कृति तयार भएको छ । यसमा मेरा आफ्नै अनुभव र मैले देखेका विषयवस्तु समावेश छन् । धेरैलाई महिनावारी हुँदाको रगत अशुद्ध हो, अपवित्र हो भन्ने लाग्छ तर यो अपवित्र होइन भनेर कृतिमार्फत् सकारात्मक सन्देश दिन खोजिएको छ । कृतिको नाम अ पवित्र रगत राखिए पनि अघिको ‘अ’ काटिएको छ । पुस्तक पढेपछि पवित्र÷अपवित्र के मान्ने त्यो पाठक आफैँमा निर्णय होस् भन्ने चाहन्छु ।
७) अर्को नयाँ कृतिको तयारी गरिरहनु भएको छ ?
– देखेका कुराहरू डायरीमा टिपोट गर्ने मेरो बानी नै हो । तर अहिले कृतिकै लागि भनेर लेख्न सुरु गरेकी छैन ।
८) तपाईं जुम्लामै काम गरिरहँदा त्यहाँ छाउपडीलाई गरिएको व्यवहार र अहिले गरिने व्यवहारमा केही परिवर्तन पाउनुहुन्छ ?
– ठाउँअनुसार नाम फरक छन् । पहिले त मलाई छाउपडी शब्द नै मन पर्दैन । म सधै यसको विरुद्धमा छु । विकसित मानिएको सहर काठमाडौँमा पनि महिनावारी भएकालाई गरिने व्यवहार उस्तै देखिन्छ । जुम्लामा त झन् घरबाट पर गोठमा राखिने गरिन्छ । महिनावारीको रगतलाई अपवित्र मान्दै महिलाहरूमाथि विभेदपनि हुन्छ । यसलाई पाप हो भन्नेको पनि कमी छैन । पहिले र अहिले गरिने व्यवहारमा केही फरक आए पनि कतिपय ठाउँमा अझै उस्तै छ । यसको लागि हामी आफैँले घरघरमा तर्क गर्न सक्नुपर्छ । कुसंस्कार तोड्नुपर्छ भनेर नारा लगाउनेहरू त धेरै छन् । तर तोडेरै देखाउने कोही छैनन् । मान्छेले हिम्मत गर्नुपर्छ परिवर्तन अवश्य हुन्छ ।
९) खलङ्गाको हमलालाई डायरीमा उतार्नुभएकी राधाको नजरमा शान्ति के रहेछ ?
– ‘युद्धविहीन अवस्था’ मात्र शान्ति होइन । विभेदमुक्त अवस्था शान्ति हो । अहिले हाम्रो देशमा युद्ध, बम, बारुद चलेका छैनन् भन्दैमा के हामी शान्तिसँग बाच्न पाएका छौँ त ? एउटी आमाले आफ्नो सन्तान भोकाइरहेको बेला उसको भोक मेटाउन सक्यो भने आमालाई शान्ति मिल्छ । बिरामीले सहजै उपचार पायो भने शान्ति मिल्छ । समाजले विभेद गर्न छोड्यो भने शान्ति मिल्छ । मेरो विचारमा शान्ति ससानो कुरामा पनि पाइन्छ । जहाँ विभेद हुँदैन त्यो नै शान्ति हो ।
१०) नेपाली साहित्यलाई कसरी बुझ्नुभएको छ ?
– साहित्य साथी जस्तै हो । जब मन भारी हुन्छ, कतिपय कुराहरू कसैलाई भन्न मन लाग्दैन त्यतिबेला मैले डायरीमा लेख्ने गर्छु । समाजको यथार्थलाई, आफ्ना भोगाइलाई लिएर मनमा उब्जिएका सबै शब्द पानामा उतार्ने गर्छु । यस अर्थमा मलाई लाग्छ, मनको भावलाई नै साहित्य भनिन्छ ।
खबरपोष्टका लागि समय दिनुभयो, धन्यवाद !
प्रतिक्रिया दिनुहोस्