काठमाडौ \ केहि समय देखि जनस्वास्थ्यका चुनौती बनेर फैलिएका संक्रमणहरु नियन्त्रण बाहिर फैलिई रहेको पाईएको छ ।
आँखा पाक्ने समस्या अहिले अधिकांशले भोगि रहेका छन् । तर यस बेला आवश्यक पर्ने आँखामा लगाउने प्रारम्भिक औषधी ‘आईड्रप्स’ समेत पाउन कठिन हुन थालेको छ ।
नेपाल आँखा अस्पतालका अध्यक्ष डा. गोपाल पोखरेलले बजारमा आँखा पाकेका बेला प्रयोग गरिने आइड्रप अभाव भएको जानकारी दिएका छन् । उनले केही समयअघिसम्म अस्पतालमा दैनिक १५० जनासम्म आँखा पाकेका बिरामी आउने गरेकोमा हाल ८० देखि ९० जनासम्म त्यस्ता बिरामी आउने गरेको जनाए ।
औषधी व्यवस्था विभागका महानिर्देशक नारायण ढकालले जुनसुकै अस्पतालमा आँखासम्बन्धी औषधी नपाइने जनाएका छन् । उनले औषधी उत्पादकले पनि फार्मेसीमा औषधी वितरण नगरी आँखा अस्पतालमा मात्र गरिरहेको पनि बताए । एक जना व्यक्तिको आँखा पाकेमा परिवारका अन्य सदस्यलाई पनि समस्या देखिन सक्ने भन्दै एकै व्यक्तिले चाहिनेभन्दा बढी आइड्रप किन्ने गरेको पाइएको छ । आँखा रोग विशेषज्ञ डा. एरिक वैद्यले आँखा पाक्ने रोगीका लागि औषधी पर्याप्त नभए पनि पाउँदै नपाएको भन्ने अवस्था नरहेको दाबी गरेका छन् ।
नरोकिएको डेंगू
डेंगु सङ्क्रमितको सङ्ख्या २० हजार नाघेको छ । स्वास्थ्य सेवा विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका किटजन्य शाखाका प्रमुख डा. गोकर्ण दाहालका अनुसार डेंगु सङ्क्रमण हालसम्म ७५ जिल्लामा २० हजार १४५ जनामा पुष्टि भएको छ । अहिलेसम्म १३ जना सङ्क्रमितको मृत्यु भएको दाहालले जानकारी दिए । पछिल्ला कहीँ वर्षदेखि डेंगु सङ्क्रमण जनस्वास्थ्यको गम्भीर समस्याको रूपमा देखिँदै आएको छ ।
धरान सेरोटाइप्स एक र तीन पुष्टि
सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार डेंगस सेरोटाइप्स भनेको कुनै पनि सूक्ष्म जीवको विभिन्न प्रकार वा प्रजातिहरूको वर्गीकरण हो । डेंगु सेरोटाइप्स चार प्रकारका हुन्छन् । नेपालमा हाल डेंगुका चार वटा ‘सेरोटाइप्स’ पुष्टि भएका छन् । डा. दाहालका अनुसार यो वर्ष धरानमा सेरोटाइप्स एक र तीन र धार्दिङमा सेरोटाइप्स दुई पुष्टि भएको छ ।
देशैभरि एक र दुई सेरोटाइप्सबाटबाट धेरै जना बिरामी भएको महाशाखाले जनाएको छ । नेपालमा डेंगु सङ्क्रमण सन् २००१ बाट फैलन सुरु गरेको हो। सोही समयदेखि डेंगु महामारीको रूप फैलने गरेको हो ।
प्रतिक्रिया दिनुहोस्