काठमाडाैँ । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई केन्द्रीय कारागार सुन्धारा पुगेर बुधबार भेटेका छन्।
बुधबार बिहान सवा १० बजे केन्द्रीय कारागार पुगेका उनले करिब एक घण्टासम्म खाणसँग कुराकानी गरेको बताइएको छ।
कोइराला र खाँणबीच पार्टीभित्रको आन्तरिक राजनीतिका विषयमा छलफल भएको बताइएको छ । खाँण कांग्रेसको आन्तरिक समीकरणमा प्रभाव राख्ने नेता हुन् ।
पछिल्लो समय उनलाई भेट्न धेरैजसो गण्डकीका मुख्यमन्त्री सुरेन्द्र पाण्डे र लुम्बिनीका मुख्यमन्त्री डिल्ली चौधरी पुग्ने गरेका छन्। त्यस्तै कांग्रेस नेता महेन्द्र यादवले पनि नियमित भेट्ने गरेका छन्।
यसअघि खाणलाई परराष्ट्र मन्त्री एनपी साउदले पनि जेलमा पुगेर भेटिएसकेका छन्। कांग्रेसका अर्का नेता डा. शेखर कोइरालाले खाणलाई गत साउन १३ गते केन्द्रीय कारागार पुगेर भेटेका थिए।
प्रतिक्रिया दिनुहोस्