कञ्चनपुर । कञ्चनपुरमा प्रहरीको हिरासतबाट एक थुनुवा फरार भएका छन् । लागुऔषध सम्बन्धि कसुरमा कञ्चनपुरको महेन्द्रनगरस्थित वडा प्रहरी कार्यालयको हिरासतमा रहेका एक थुनुवा बुधबार राति साढे ८ फरार भएका हुन् ।
कञ्चनपुरको बेलौरी नगरपालिका–६ हात्तिबोझा बस्ने २६ वर्षीय वीरेन्द्र बडायक प्रहरीलाई झुक्याएर हिरासतबात भागेको स्रोतले जनाएको छ । बडायक इलाका प्रहरी कार्यालय बेलौरीमा लागुऔषध सम्बन्धि मुद्दा दर्ता भई साउनको १९ गतेदेखि वडा प्रहरी कार्यालय महेन्द्रनगरको हिरासत कक्षमा थुनिएका थिए ।
उनी थुनुवा हिरासत कक्षको बाथरुममा रहेको भ्येन्टिलेसनको ग्रिल तोडेर भागेको बताइएको छ । उनको खोजतलासमा प्रहरी निरीक्षक यामबहादुर मल्लको कमाण्डमा ३० जनाको प्रहरी टोली खटाइएको छ ।
प्रतिक्रिया दिनुहोस्