काठमाडौं\ विभिन्न जिल्लामा फैलिएको डेंगू नियन्त्रणमा सरकार असफल देखिएको छ । सरकारले प्रभावकारी कदम नचालेकै कारण हाल सम्म यसबाट १३ जनाको मृत्यु भई सकेको छ भने संक्रमण ७५ जिल्लामा पुगेको छ । पछिल्लो विवरण अनुसार यो वर्ष मात्रै २१ हजार २ सय ६ जनामा डेंगी सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयले डेंगी रोग नियन्त्रण, रोकथाम तथा व्यवस्थापनसम्बन्धी रणनीति २०१९ लाई आधार मानेर चालू आर्थिक वर्षका लागि सङ्घ, प्रदेश र स्थानीय तहको भूमिकासहित कार्य योजना बनाएको छ । तर तीन तहका सरकारबीच राम्रो समन्वय नहुँदा डेंगी नियन्त्रण हुन सकेको छैन ।
यो वर्ष हुम्ला र मुगुबाहेकका ७५ वटै जिल्लामा सङ्क्रमण देखिइसकेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्याङ्क छ । स्वास्थ्य मन्त्रालय भने तीन तहकै सरकारबीचको सहकार्यमा नियन्त्रणको प्रयास भइरहेको दाबी गर्छ ।
डेंगीबाट यो वर्ष सबैभन्दा धेरै सुनसरी, मोरङ, धादिङ र झापा प्रभावित भएका छन् ।
यी जिल्लामा यो महिना मात्रै ५ सयभन्दा धेरैमा सङ्क्रमण देखिएको छ । यसैगरी यो महिना देशैभर १३ हजार ३ सय ६३ सङ्क्रमित थपिएका छन् । सरकारले नियन्त्रणका लागि प्रयास भइरहेको दाबी गरे पनि प्रभावकारी काम नभएको गुनासो नागरिकको छ ।
डेंगी महामारी नियन्त्रण गर्ने दायित्व प्रदेश र स्थानीय तहको पनि हो भन्दै संघीय सरकार जिम्मेवारीबाट पन्छिन खोजिरहेको छ । यस्तो महामारीका बेला एक समन्वय नहुँदा त्यसको मार सर्वसाधारणले खेप्नु परेको दाबी विज्ञको छ ।
गत वर्ष साढे ५४ हजारभन्दा बढीमा डेंगी सङ्क्रमण पुष्टि भएको थियो । डेंगीकै कारण ८८ जनाले ज्यान गुमाएका थिए । यो वर्ष पनि अझै तीन महिना जोखिम हुने सरकारले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्