काठमाडौँ । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल भ्रमणमा रहेका अमेरिकी सिनेटर क्रिस भान होलेनबीच भेटवार्ता भएको छ ।
एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा आइतबार दिउँसो भएको भेटवार्तामा एमसीसी सम्झौता र नेपालको शान्ति प्रक्रियाबारे कुराकानी भएको भेटमा सहभागी एमाले संसदीय दलका उपनेता तथा उपाध्यक्ष सुवास नेम्वाङले जानकारी दिए ।
भेटपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै एमाले संसदीय दलका उपनेता एवं एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले भेटमा दुई देशबीचको सम्बन्धका बारेमा कुराकानी भएको बताए ।
उनले सिनेटरले नेपालको शान्ति प्रक्रियाको बारेमा जिज्ञासा राखेकोे र अध्यक्ष ओलीले आफू सरकारमा रहँदा नै शान्ति प्रक्रिया टुंगोमा पुर्याउन पहल गरेको र अहिले पनि अन्तर्राष्ट्रिय प्रतिवद्धता, सर्वोच्च अदालतको फैसला, शान्ति प्रक्रिया पीडितमैत्री हुनेगरी टुंगोमा पुग्नुपर्छ भन्नेकुरालाई ध्यानमा राखेर अघि बढ्ने बताएको जानकारी दिए ।
उपाध्यक्ष नेम्वाङले भेटमा सिनेटरले अमेरिकी आर्थिक सहयोग परियोजना (एमसीसी) एमसीसी नेपालले अनुमोदन गरेर कार्यान्वयन गर्न शुरु गरेकोमा खुशी लागेको बताएको जानकारी गराए । अमेरिकाले सम्झौता कार्यान्वयन गर्न शुरु भएकोमा अमेरिका सकारात्मक रहेको बताएको नेम्वाङले भने ।
होलेन गत शुक्रवार नेपाल आएका थिए । होलेन अमेरिकी संसदको विदेश सम्बन्ध समिति र राज्य तथा विदेश सञ्चालन विनियोजन उपसमितिका सदस्य छन् ।
प्रतिक्रिया दिनुहोस्