ताप्लेजुङ\ ताप्लेजुङमा नयाँ अलैँची यसवर्ष दोब्बर बढी मूल्यमा कारोबार हुन थालेको छ । अलैँचीको नयाँ फसल (उत्पादन) बजारमा आउन थालेसँगै गत वर्षभन्दा दोब्बर बढी मूल्यमा कारोबार हुन थालेको हो ।
बजारमा आउन थालेसँगै नयाँ अलैँचीले राम्रो मूल्य पाउँदा संलग्न किसान तथा व्यवसायी उत्साहित भएका छन् । सदरमुकाम फुङ्लिङ बजारमा हिजो आज नयाँ अलैँची प्रतिमन (४० किलोग्राम) ६० हजार रुपियाँसम्ममा कारोबार भइरहेको छ । भदौको पहिलो सातापछि बजारमा आउन थालेको अलैँचीको मूल्य गत वर्षको तुलनामा दोब्बर रहेको स्थानीय व्यापारीले बताएका छन् ।
अलैँची व्यवसायी सङ्घ ताप्लेजुङका अध्यक्षसमेत रहनुभएका स्थानीय व्यापारी भद्रवीर रेग्मीले नयाँ अलैँची प्रतिमन ५८ देखि ६० हजार रुपियाँसम्ममा कारोबार भइरहेको बताएका छन् । गतवर्ष यही मौसममा अर्थात् नयाँ अलैँची बजारमा आउन थाल्दा प्रतिमन २८ देखि ३० हजार रुपियाँ मूल्य रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्