उर्लाबारी\ मोरङको उर्लाबारी–३ स्थित मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरमा कार्यरत चिकित्सक डाक्टर प्रज्वल कोइरालाको शव कोशीको अङ्गालोमा भेटिएको छ ।
झापाको दमक १ मा घर भई गत साउन २९ गते देखि मदन भण्डारी ट्रमा सेन्टरमा करारमा नियुक्त डाक्टर कोइराला गत भदौ १० गते आइतबार अस्पतालमा बिरामी चेकजाँच गरी बेपत्ता भएका थिए । सुनसरी र उदयपुरको सीमाको कोशी पुलमा आफू चढ्ने गाडी, मोबाइल र पर्स छोडेर बेपत्ता भएका कोइरालाको शव वराहक्षेत्र नगरपालिका वडा नं. २ को कोशीको अङ्गालोमा मङ्गलबार दिउँसो फेला परेको हो ।
कोशीमा माछा मार्नेहरूले अङ्गालोमा शव तैरिरहेको देखेपछि प्रहरीलाई खबर गरेका थिए । शव भेटिएपछि स्थानीयले प्रहरी र आफन्तलाई खबर गरेको थियो । मृतकका बुवा दिवाकर कोइरालासहित दमक १ का वडाध्यक्ष हरिप्रसाद न्यौपानेको टोलीले शवको पहिचान गर्दा कोइरालाकै भएको ठहर भएपछि शवलाई पोस्टमार्टमका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्याइएको छ ।
प्रतिक्रिया दिनुहोस्