फुङ्लिङ । लिम्बू समुदायमा लोकप्रिय रहेको धान नाच सङ्कटमा पर्दै गए पनि ताप्लेजुङका लिम्बू समुदायहरुले धान नाच संरक्षण गर्नका लागि सामुहिक कार्यक्रमको आयोजना गरेका छन् । धान नाच एकले अर्काको हात समाएर गोलाकार घेरा बनाइ सामूहिकरुपमा नाच्ने गरिन्छ । लिम्बू समुदायमा हुने विवाह, सुख–दुःखका कार्य, मेला हाट र अन्य उत्सवमा यो नाचको प्रचलन छ ।
साइनो सम्बन्ध नलाग्ने युवायुवती धान नाचमा सरिक हुन्छन् । वृद्धवृद्धा पनि उत्तिकै सौहार्दताका साथ नाचमा सहभागी हुन्छन् । यो नाच साइनो सम्बन्धभन्दा अलग रहेर नाच्ने गरिन्छ । नाच्नुभन्दा अघि केटा र केटी पक्षबीच साइनो सम्बन्ध केलाउनु पर्छ । साइनो भए माफी मागेर छुट्नु पर्छ । यो अत्यन्तै अनुशासनमा रहेर नाचिन्छ । नाच्ने क्रममा एकले अर्काको खुट्टा भुलवश टेक्न पुगे पनि माफी माग्नुपर्छ ।
तर, धान नाच अहिले लोप हुने अवस्थामा पुगेको छ । पहिले प्रशस्तै नाचिने धान नाच अहिले ‘खला’ बाट विस्थापित भएर ‘भिडियो र स्टेज’मा सीमित हुन पुगेको हाे । कला र संस्कृति नयाँ पुस्तालाई हस्तान्तरण गर्न नसक्दा यो नाच लोप भएर जान लागेको लिम्बू समुदायको साझा संस्था याक्थुङचुम्लुङका ताप्लेजुङका अध्यक्ष इन्दिरा मेन्याङ बताउँछिन् ।
धान नाच्दा पालाम (एक प्रकारको छन्दबद्ध गीत) गाउनु अनिवार्य छ । पालाम केटा र केटी पक्षबीच सवालजवाफको रुपमा चरण–चरण गरेर गाइन्छ । पालाममा सृष्टिको उत्पति, मानवसभ्यताको विकासक्रमदेखि मायाप्रीतिसम्मका कुरा हुन्छ । पालाम सवाल–जवाफको क्रममा एक–अर्काबीच मायाप्रेम बस्न गई विवाहसमेत हुने गरेकाे छ ।
प्रतिक्रिया दिनुहोस्