बेइजिङ । नेकपा एमालेका महासचिव शंकर पोखरेल र चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ जियनचाओबीच सोमबार बेइजिङमा भेटवार्ता भएको छ।
महासचिव पोखरेल र सीपीसीका विदेश विभाग प्रमुख लिउबीच भएको भेटवार्तामा द्विपक्षीय हित र सहकार्यका विषयमा कुराकानी भएको छ।
दुई नेताबीचको भेटवार्तामा महासचिव पोखरेलले १८१६ को सुगौली सन्धीको मर्मअनुसार नेपालको नक्सा संसदबाट पास गरेर औपचारिक रुपमा जारी गरेको जानकारी गराएका छन् ।
चुच्चे नक्साका कारण दबाब र अप्ठ्याराहरुको पनि सामना गर्नु परेको भन्दै पोखरेलले जारी नक्साका सन्दर्भमा सोही अनुसार आफुहरुले चीनको पनि साथ चाहेको बताएका छन् ।
‘हामी चीन सरकार र चिनियाँ कम्युिनष्ट पार्टीको साथ चाहन्छौं । हामी एक चीनको पक्षमा दृढ छौं । नेपालको भूमिबाट चीन विरोधी गतिबिधि गर्ने कामलाई अस्वीकार गर्छौ’, महासचिव पोखरेलको भनाइ छ ।
त्यसक्रममा महासचिव पोखरेलले नेकपा (एमाले) असंग्लन परराष्ट्र नीति र पञ्चशीलको आधारमा अन्तर्राष्ट्रिय सम्बन्ध र सहकार्यलाई कायम राख्न चाहेको समेत बताएका छन् ।
त्यसक्रममा उनले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण र चिनियाँ राष्ट्रपति तथा सीपीसीका महासचिव सी जिन् पिङको नेपाल भ्रमणका क्रममा भएका सहमति, सम्झौता छिटोभन्दा छिटो कार्यान्वयनको पक्षमा रहेको समेत जानकारी गराएका छन् ।
जवाफमा विदेश विभाग प्रमुख लिउ जियनचाआले एक चीन नीतिमा दृढ रहेकोमा नेकपा (एमाले)लाई धन्यवाद दिएका छन् । ‘नेकपा (एमाले) र चिनियाँ कम्युनिष्ट पार्टीबीचको एकता घनिष्ठ र समुधुर छ । यसलाई हामी नयाँ उचाईमा लैजान चाहन्छौं’, लिउको भनाइ छ ।
त्यसक्रममा लिउले चीन र नेपालबीचको घनिष्ठ सम्बन्ध नचाहने शक्तिहरु पनि रहेको भन्दै अध्यक्ष ओली र सीबीच भएका सहमति सहमति कार्यान्वयन होस् भन्नेमा आफुहरु दृढ रहेको बताए ।
‘ती सहमति, सम्झौताहरु कार्यान्वयन छिटो गराउन हाम्रोतर्फबाट अधिकतम् प्रयास हुनेछ’, लिउको भनाइ उधृत गर्दै महासचिव पोखरेलसँगै चीन भ्रमणमा रहेका नेकपा एमाले स्थायी कमिटी सदस्य तथा प्रचार विभाग प्रमुख राजेन्द्र गाैतमले जनाएका छन् ।
प्रतिक्रिया दिनुहोस्