काठमाडौँ । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालको नेतृत्वको महासङ्घ प्रतिनिधिमण्डलले आज भेटवार्ता गरेको छ । भेटका क्रममा महासङ्घ अध्यक्ष ढकालले विद्यमान आर्थिक मन्दीबाट अर्थतन्त्र सुधार गर्न निजी क्षेत्रको मनोबल बढाउनु आवश्यक रहेको बताए । उनले अर्थतन्त्रमा निजी क्षेत्रको हिस्सा ८१ प्रतिशत रहेको स्मरण गराउँदै निजी क्षेत्र सम्मानित भएर आप्mनो काम गर्न सक्ने वातावरण आवश्यक रहेको बताए ।
अर्थतन्त्रलाई चलायमान बनाउन केन्द्रीय बैंक र सरकार दुवैको भूमिका रहेको अध्यक्ष ढकालको भनाइ थियो । उपप्रधानमन्त्री एवं गृहमन्त्रीको जिज्ञासामा अध्यक्ष ढकालले निजी क्षेत्रको मनोबल बढाउन निजी क्षेत्रको मर्यादाक्रमको व्यवस्था गर्नुपर्नेमा जोड दिए। “हामीले निजी क्षेत्रको मर्यादाक्रमका लागि सरकार समक्ष आग्रह गरिरहेका छौँ”, उनले भने, “अहिलेको अवस्थामा मनोबल बढाउन यसले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछ ।”
उपप्रधान एवं गृहमन्त्री श्रेष्ठले यस विषयमा काम भइरहेको र छिट्टै निर्णय गरिने बताए । यसैगरी अध्यक्ष ढकालले सीमा क्षेत्रमा हुने अवैध आयात निर्यात नियन्त्रणका लागि गृह मन्त्रालयले विशेष ध्यान दिनुपर्ने बताए । कैलालीको गौरीफन्टामा रहेको क्वारेन्टाइन पुनःसञ्चालनका लागि पनि अध्यक्ष ढकालले आग्रह गरे । महासङ्घका पदाधिकारी एवं प्रदेश अध्यक्ष सहभागी रहेको भेटवार्तामा गिटी बालुवा लगायतका वस्तुको आवश्यक वातावरणीय लगायतका प्रभाव अध्ययन गरी निकासी गर्न दिइनुपर्ने सुझाव पेस गरिएको थियो ।
यसैगरी नयाँ बनेका पोखरा र गौतमबुद्ध विमानस्थल सञ्चालनका लागि पनि सरकारले विशेष कार्यक्रम ल्याउनुपर्ने सुझाव महासङ्घको थियो । सरकारले पूँजीगत खर्च गर्न नसकिरहेको अवस्थामा बजारमा रकम प्रवाह गर्न विकास निर्माणमा सरकारी लगानी आवश्यक रहेकोमा जोड दिइएको थियो । उपप्रधान एवं गृहमन्त्री श्रेष्ठले अर्थतन्त्र सुधारका लागि सरकारले सम्बन्धित सबैसँग छलफलको तयारी गरिरहेको बताए ।
प्रतिक्रिया दिनुहोस्