नेपालमा पत्रकारिता सुरुआत गर्ने व्यक्तित्व एवं राष्ट्रिय विभूति युवा कवि मोतीराम भट्टको १५८ औँ जन्मजयन्ती आज नेपाल राज्यभर विभिन्न साहित्यिक कार्यक्रमको आयोजना गरी मनाइँदैछ ।
विसं १९२३ भाद्र कृष्ण कुशे औँसीका दिन जन्मेर विसं १९५३ साल भाद्र कृष्ण कुशे औँसीकै दिन ३० वर्षको उमेरमा परलोक भएका मोतीराम भट्टले नेपाली साहित्यको श्रीवृद्धिका लागि गहन योगदान पुर्याएका थिए ।
नेपाली साहित्यको शृङ्गार रसलाई योगदान दिएका युवा कवि मोतीराम भट्टले आदिकवि भानुभक्तको जीवनी पहिलोपटक प्रकाशनमा ल्याउनाका साथै नेपालमा छापाखानासमेत भित्र्याएका थिए । यही छापाखानामार्फत नेपालमा पत्रकारिताको सुरुआत भएको हो ।
को हुन् मोतीराम ?
मोतीराम भट्ट (१९२३ भदौ २५ -१९५३) नेपाली साहित्यका प्रथम गजलकार, जीवनीकार, समलोचक तथा माध्यमिक कालका प्रवर्तक थिए। थोरै बाँचेर नेपाली साहित्यमा अत्यन्तै धेरै योगदान पुर्याउने उनी नेपाली साहित्यका प्रेरक व्यक्तित्व, कुशल नायक र होनहार प्रतिभा मानिन्छन्। १९४० देखि १९७६ सालसम्मको नेपाली साहित्यमा श्रृङ्गारिक धाराको सुरुवातकर्ता मोतीराम भट्ट थिए।
मोतीराम भट्ट नेपाली साहित्यामा भानुभक्त आचार्य पछि आउने सशक्त व्यक्तित्व हुन्। उनले नेपाली भाषासाहित्यमा समालोचनाको सुरु गरेस भट्टले नै संवत् १९४८मा कवि भानुभक्तको जीवनचरित्रलाई प्रकाशमा ल्याए। कवि भानुभक्त आचार्यको जीवनचरित्रमा मोतीराम भट्टले प्रभाववादी ढङ्बाट व्याख्यात्मक रूपमा भानुभक्तबारे प्रशंसा गरेको मानिन्छ। आफूले खोजेका कविलाई प्रतिभासम्पन्न तथा सहज कवि थिए भन्ने प्रमाणित गर्न उनले त्यस जीवनचरित्रमा भानुभक्तले रचेका भनेर जताततै फुटकर सिलोकहरू देखाएका भनिन्छ।
दरवार हाईस्कुलमा अध्ययन गर्दा नै मोतीराम भट्ट नामी भइसकेका थिए। यी पढाइमा पनि तेजिला थिए। यिनले दरबार हाई स्कूलको दशम कक्षामा अध्ययन गरिरहेको बेला अर्थात् १९४८ सालमा बेलायतबाट नेपाल-भ्रमणमा आएका लर्ड राबर्ट प्रधानमन्त्री चन्द्रशमशेरसँग दरबार हाइस्कूलको निरीक्षणमा गएका थिए। त्यस बेला स्कूलको प्रथम विद्यार्थी मोतीराम भट्ट भनेर चन्द्रशमशेरले परिचय गराउनासाथ ती पाहुनाले उभिरहेका मोतीरामलाई आफ्नै हातबाट मेच दिएर बस भने। त्यसपछि चन्द्रशमशेरले पनि बस भनेपछि मात्र मोतीराम भट्ट त्यस मेचमा बसेका थिए। त्यसै बेला ती बेलाईतीले पुरस्कारस्वरूप भट्टलाई पन्ध्रवटा ग्रन्थ उपहार दिएका थिए। त्यसताका साहित्यकारहरूलाई एउटै चौतारामा उभ्याएर सङ्गठन गर्न पनि उनी सिपालु थिए। प्रथम जीवनी लेखक, समालोचक, अन्वेषक, पत्रकार, मुद्रणालयका संस्थापक, सङ्गठनकर्ता, पुस्तकालय स्थापक पनि मोतीराम भट्ट नै थिए। उनी कवि, गजलकार र गीतकार, नाटककार तथा नाटक निर्देशन पनि गर्थे।
काशीमा बसेकै बेला मोतीराम भट्टले भानुभक्त आचार्यको बालकाण्ड रामायण र पछि सम्पूर्ण रामायण पनि प्रकाशित गराए। त्यसै बेला उनले अन्य थुप्रै नेपाली भाषाका पुस्तकहरू प्रकाशित गराएका थिए। त्यसै ताका यिनले साथीभाइहरूलाई भेला पारी समस्यापूर्ति कविता लेख्ने जागरण ल्याएका थिए। बनारसमा नेपाली भाषासाहित्यका थुप्रै कृतिहरूको प्रकाशन गरी भट्ट संवत् १९४४ फागुनमा फेरि काठमाडौ आए। राजगुरु लोकराज पण्डितबाट झिकाइएर उनी काठमाडौँ आएका थिए। त्यसपछि मोतीराम भट्टले आफ्ना मामा नरदेव पाण्डे र कृष्णदेव पाण्डेको सहयोग लिएर १९४५ सालमा काठमाडौँको ठहिटीमा मोतीकृष्ण कम्पनी खोलेका हुन्। त्यसै बेला उनले पुस्तकालय पनि खोलेका थिए।
त्यसैले उनले काठमाडौमा आफ्ना मामा नरदेव पाण्डे, लक्ष्मीदत्त पन्त, गोपीनाथ लोहनी, भोजराज पाण्डे आदिसँग मिलेर ‘मित्रमण्डली’ गठन गरे। त्यही मञ्चबाट श्रृङाररसमा समस्यापूर्ति कविताहरूको निर्माण, परिचालन र कार्या न्वयन हुन थाल्यो। त्यस बेला यिनीहरू सबैलाई मोतीराम भट्टले समस्यापूर्ति कविताको शीर्षक दिएका थिए – ल्यौ ल्यौ औँठी म दिन्छु राख तिमीले मेरो निशाना भनी। त्यही शीर्षकबाट मोतीरामलगायत यिनीहरूले औपचारिक रूपमा पहिलोपल्ट समस्यापूर्ति कविता रचना गरेका थिए। मोतीराम भट्टलाई यी समस्यापूर्ति कवितालाई सङ्ग्रह गरेर समस्याशतक भन्ने ग्रन्थनिर्माण गर्ने धोको थियो तर उनले निर्माण गर्न थालेको समस्याशतक भन्ने ग्रन्थका लागि पाँच जना कविहरू मिलेर लेख्ता जम्मा चौबीस श्लोक मात्र तयार भए सङ्ग्रह भने निस्कन सकेन। समस्यापूर्ति कविताहरूको अभ्यासमा भट्टलाई महत्त्वपूर्ण रूपमा सघाउने अन्य स्रष्टाहरू- राजीवलोचन जोशी, डोलेश्वर, कालीप्रसाद, देवराज थिए। यसै क्रममा यिनले दरबार हाई स्कूलमा अध्ययन गरी १९४८ सालमा
कलकत्ताबाट प्रवेशिका परीक्षा उत्तीर्ण गरे।
प्रतिक्रिया दिनुहोस्