काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले कान्ति बाल अस्पतालमा उपचारका लागि पुगेकी बालिकाको मृत्युमा स्वास्थ्यकर्मीको लापरबाही देखिएको बताएका छन् । स्वास्थ्यकर्मीको लापरबाहीका कारण बालिकाको मृत्यु भएको देखिएकाले आफूले कारबाहीका लागि निर्देशन दिइसकेको मन्त्री बस्नेतको भनाइ छ ।
शुक्रबार जनसंख्या तथा विकाससम्बन्धी राष्ट्रिय सम्मेलनको उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री बस्नेतले कान्ति बाल अस्पतालमा बालिका मृत्यु प्रकरणमा अनुसन्धान गरी लापरबाही गर्ने स्वास्थ्यकर्मीलाई कारबाहीको निर्देशन दिइएको बताए । ‘कान्ति बाल अस्पतालमा स्वास्थ्यकर्मीको लापरबाहीले बालिकाको मृत्यु भएको हो । मैले कारबाहीका लागि निर्देशन दिइसकेको छु,’ मन्त्री बस्नेतले भने ।
काठमाडौंको बाफल बस्ने मकवानपुर थाहा नगरपालिका– १० की ५ वर्षीया रेजिशा गोपालीलाई उच्च ज्वरो आएपछि आमा रिता गोपाली र हजुरबा कृष्णबहादुर गोपालीले भदौ १८ गते साँझ ५ बजे बजे कान्तिको इमर्जेन्सी कक्षमा पुर्याएका थिए। २ घन्टासम्म कुर्दा पनि उपचार नपाएपछि सोही साँझ ७:१० बजे रेजिशाको मृत्यु भएको थियो।
मन्त्री बस्नेतले जनसंख्या र विकासको सन्तुलन हुनुपर्नेमा जोड दिए । ग्रामीण भेगबाट अवसरका लागि सहरी क्षेत्रमा बस्ने प्रकोप बढेको बस्नेतको भनाइ छ । ‘जनसंख्या र विकास एक आपसमा अन्तरसम्बन्धित विषय हुन् । २०७८ सालको जनगणनाअनुसार शिक्षा क्षेत्र, स्वास्थ्य क्षेत्रमा सुधार आवश्यक देखियो, बालमृत्युदर लक्ष्यअनुसार घटाउन सकिएको छैन । यसका लागि सहकार्यको आवश्यकता छ ।
संवैधानिक, कानुनी दायित्व, गुणस्तर दिगो विकास निर्माण गर्नु आजको आवश्यकता हो,’ मन्त्री बस्नेतले भने । फरक प्रशंगमा बोल्दै उनले मेडिकल डाक्टरहरु ५ वर्षसम्म तलब खाएर बिदामा बसिरहेकाले उनीहरूलाई तत्काल काममा फर्काउन निर्देशन दिएको बताए । साथै उनले डाक्टरहरूको अडिड गर्ने सिस्टम गरेको दाबी गरे ।
प्रतिक्रिया दिनुहोस्