Ads

किन बारम्बार नाम फेर्छ माओवादी ?


काठमाडौँ,  नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले आगामी महाधिवेशनसम्म पार्टीको नाम परिवर्तन गर्ने तयारी गरेको छ। माओवादीले अन्य कम्युनिस्ट घटकसँग पार्टी एकता गर्न वार्ता, संवाद र छलफल जारी राखेकाले पार्टीको नाम फेर्न लागेको हो। गत भदौ २५ गते बसेको पदाधिकारी बैठकले चारबुँदे आन्तरिक परिपत्र जारी गर्दै पार्टीको नाम फेर्ने गरी निर्णय गर्ने उल्लेख छ।

पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र महासचिव देव गुरुङद्वारा हस्ताक्षरित परिपत्रमा कोष्ठकमा रहेको ‘माओवादी केन्द्र’ को नामबारे आवश्यक निर्णय लिन सकिने उल्लेख छ। विज्ञप्तिमा भनिएको छ, “नेपाल कम्युनिस्ट पार्टी ९माओवादी केन्द्र० र अन्य कम्युनिस्ट घटकसँग पार्टी एकताको विषयमा गम्भीर ढङ्गले वार्ता, संवाद र छलफल भइरहेको सन्दर्भमा पार्टी एकतालाई सफल तुल्याउनका लागि नेपाल कम्युनिस्ट पार्टीको पछाडि कोष्ठकमा रहेको माओवादी केन्द्रबारे आगामी महाधिवेशनमा छलफल गरी आवश्यक निर्णय गर्न सकिने छ।” पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले माओवादी केन्द्रले अन्य कम्युनिस्ट पार्टीसँग एकता गर्न छलफल अघि बढाएकाले त्यस अवस्थामा पार्टीको नाम फेर्न सकिने बताएका छन् । उनले भने,“अहिलेकै अवस्थामा माओवादी केन्द्रको नाम फेरिँदैन । अन्य कम्युनिस्ट पार्टीसँग एकता गर्न छलफल जारी भएकाले त्यस अवस्थामा पार्टीको नाम फेरिन सक्छ । त्यो पनि पार्टी महाधिवेशनपछि मात्रै नाम फेरिने हो ।”

माओवादीले धेरै पटक पार्टीको नाम फेरिसकेको छ। तत्कालीन मोहनविक्रम सिंहसँग पार्टी विभाजन गरेपछि पार्टीको नाम नेकपा मशाल राखिएको थियो। त्यतिबेला नेतृत्वमा मोहन वैद्य ‘किरण’ थिए। पार्टी नेतृत्वमा प्रचण्ड आएपछि नेकपा एकता केन्द्र, नेकपा माओवादी हुँदै एकीकृत नेकपा माओवादी, माओवादी केन्द्र पार्टीको नाम बनाइएको थियो।

तत्कालीन एमाले र माओवादी केन्द्रबिच एकता भएपछि पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० बनाएको थियो। सर्वोच्च अदालतबाट नेकपा विभाजन भएपछि माओवादी केन्द्र पुनर्गठन गरिएको थियो। हाल माओवादी केन्द्रको नाम महाधिवेशनमा फेर्ने गरी छलफलमा ल्याएको छ।

Ads

सम्बन्धित पोष्टहरू