Ads

धान खेती मासेर कागती खेती


झापा\ दैनिक हुल बाँधेर आउने जङ्गली हात्तीले धानबाली नष्ट गर्न थालेपछि बैकल्पिक खेतीका कागती खेती सुरु गरिएको छ । मेचीनगर नगरपालिका–४ बाहुनडाँगीका अधिकांश किसानले विकल्पमा कागती खेती सुरु गरेका हुन् ।

कम लगानी गर्दा पनि बढी आम्दानी हुने र हात्तीले नष्ट नगर्ने हुँदा कागती खेतीतर्फ किसान आकर्षित भएको हुन् । बाहुनडाँगीमा पाँच कठ्ठादेखि तीन विगाह क्षेत्रफलमा धानको साटो व्यावसायिक कागतीखेती भइरहेको वडाध्यक्ष अर्जुन कार्कीले बताएका छन् । उनका अनुसार वडा नम्बर ४ मात्र व्यावसायिक रुपमा कागतीखेती गर्ने किसान २५ भन्दाबढी छन् ।
“आठ वर्षअघि विश्व बैंकको लगानीमा हात्ती रोक्ने विद्युतीय घेराबारा १२ किलोमिटर गर्ने र १२ किलोमिटर कागती रोपेर जैविक फेन्सिङ गर्ने भन्ने योजना थियो”, उनले भने, “तर बैंकसँग कागती रोप्नेभन्दा ढुङ्गामुढा लगाउन सस्तो पर्ने भएपछि कागती खेती भएन ।”

वडा नम्बर ४ मगरडाँडाका सन्तोष अधिकारीले कागती बेचेर बार्षिक रु २५ लाख आम्दानी गरेको बताए । उनले धानखेतीबाट भन्दा कागती खेतीबाट प्रतिविघा रु पाँच लाख बढी नाफा भएको जनाएका छन्। उनले चार वर्षअघि दुई विघा जमिनमा धानको साटो कागतीखेती गरेका हुन् । विरुवा लगाएको तीन वर्षदेखि कागतीले आम्दानी दिन सुरु गरेको उनको भनाई छ । उनले बाहै्र महिना फल्ने सुनकागतीको खेती गरेका हुन् ।

“धान तथा मकै बाली भित्र्याउन हात्तीले दिँदैनथ्यो”, उनले भने, “तर कागती खेतीमा भने समस्या छैन ।” उनले हाल स्थानीय छ जनालाई रोजगारी समेत दिएका छन
। राम्रोसँग गोडमेल, समयमै मल, पानी गरेर स्याहार गर्न सके प्रतिबोटमा छ हजार दानासम्म फलाउन सकिने उनकोअनुभव छ ।

Ads

सम्बन्धित पोष्टहरू