काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले शेखर कोइरालाले बोलाएको गुटको बैठकमा सहभागी नहुने भएका छन् ।
संस्थापनइतर समूहको भेला आज दिउँसो २ बजे आफ्नो सम्पर्क कार्यालयमा आफू पक्षीय पदाधिकारी केन्द्रीय सदस्यको बैठक बोलाएका छन् ।
कोइरालाको सचिवालयले महामन्त्री शर्मा र केन्द्रीय सदस्य प्रदीप पौडेललाई पहिलो पटक समूहको बैठकमा आमन्त्रण गरेको थियो ।
१४ औँ महाधिवेशनमा नेता प्रकाशमान सिंहको ‘प्यानल’ बाट शर्माले महामन्त्री जित्दा सभापति शेरबहादुर देउवाको प्यानलबाट पौडेल महामन्त्रीमा प्रतिस्पर्धामा उत्रिएका थिए ।
महामन्त्री शर्मा निकट स्रोतले भन्याे: महामन्त्रीज्यू शेखर कोइरालाले बोलाएको बैठकमा सहभागी हुनुहुन्न होला , नेता प्रदीप पौडेल पनि इतर पक्षको बैठकमा सहभागी नहुने बुझिएको छ । पौडेल आज मध्यान्ह १२ बजे चीन प्रस्थान गर्दै छन् । यद्यपि भदौ १७ गते नेता अर्जुननरसिंह केसीको निवासमा इतर पक्षका नेताहरूको छलफलमा भने महामन्त्री शर्मा र पौडेल सहभागी भएका थिए ।
उक्त छलफलमा महामन्त्रीद्वय थापा र शर्मा, सह–महामन्त्रीद्वय बद्री पाण्डे र जीवन परियार, नेताहरू बलबहादुर केसी, प्रदीप पौडेल, दिलेन्द्र बडु लगायत सहभागी हँदा नेता शेखर कोइरालालाई भने खबर गरिएको थिए । केसी निवासको छलफलले नेता कोइरालासँग परामर्श गरेर शर्मा र पौडेलसहितको बैठकको तयारी गर्न केन्द्रीय सदस्य बलबहादुर केसीलाई जिम्मेवारी दिएको थियो । सोही अनुसार आजको बैठकमा शर्मा र पौडेललाई निम्तो गरिए पनि उनीहरू सहभागी नहुने देखिएको छ ।
प्रतिक्रिया दिनुहोस्