Ads

भारत र क्यानडाबीच विवाद चर्कियो, दुवैले निकाले एक-अर्काका कूटनीतिज्ञ


काठमाडाैँ । क्यानडामा एक सिख नेता हरदीप सिंह निज्जरको हत्या प्रकरणलाई लिएर भारत र क्यानडाबीच विवाद चर्किँदै गएको छ ।

विवाद बढ्दै गएपछि दुवै देशले एक-अर्काका कूटनीतिज्ञलाई निष्कासन गरेका छन् ।

भारत सरकारले क्यानडाका एक जना वरिष्ठ कूटनीतिज्ञलाई निष्कासन गरेको छ । क्यानडाले हरदीप सिंह निज्जरको हत्यामा संलग्न रहेको आरोपमा एक जना भारतीय कूटनीतिज्ञलाई निष्कासन गरेपछि भारतले पनि उही शैलीमा क्यानडाका कूटनीतिज्ञलाई निष्कासन गरेको हो ।

यसअघि क्यानडाले भारतीय डिप्लोम्याटलाई निष्कासन गरेको थियो ।

भारतको विदेश मन्त्रालयले नयाँदिल्लीमा रहेका क्यानाडका उच्चायुक्तलाई बोलाएर उच्चायोगका एक जना वरिष्ठ कूटनीतिक कर्मचारीलाई निष्कासन गर्ने भारत सरकारको निर्णयबारे जानकारी गराएको छ । नयाँदिल्लीले निष्कासन गरेका क्यानाडाली कूटनीतिज्ञलाई पाँच दिनभित्रमा भारत छाड्न आदेश दिएको छ ।

गत जुन १८ मा क्यानडाको ब्रिटिश कोलम्बियास्थित एक सिख मन्दिरबाहिर हरदीप सिंह निज्जरको गोली हानी हत्या भएको थियो।

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले क्यानेडाली सिख अभियानकर्ताको हत्यामा भारतीय सरकारी एजेन्टको संलग्नता आरोप लगाएका छन् । क्यानडाको गुप्तचर निकायले निज्जरको मृत्यु र भारतबीच एउटा “विश्वसनीय” सम्बन्ध पहिचान गरेको ट्रूडोले बताए।

‘क्यानडाली भूमिमा क्यानडाली नागरिकको हत्यामा विदेशी सरकारको कुनै पनि संलग्नता हाम्रो सार्वभौमिकताको अस्वीकार्य उल्लंघन हो,’ उनले भनेका छन् । उनले यस विषयको गहिराइमा पुग्न भारत सरकारलाई सहकार्य गर्न आग्रह समेत गरेका छन् ।

भारतले भने क्यानडाको आरोप तथ्यहीन र नियोजित भन्दै अस्वीकार गरेको छ । ‘हामीले क्यानडाका प्रधानमन्त्रीले संसद्‌मा राखेको भनाइ र त्यहाँका विदेशमन्त्रीको वक्तव्य हेरेका छौँ र अस्वीकार गरेका छौँ । क्यानडामा हुने कुनै पनि हिंसामा भारत सरकारको संलग्नताको आरोप तथ्यहीन र प्रेरित छ,’ भारतको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

क्यानडामा भारतीय मूलका झन्डै १४ देखि १८ लाख जना त्यहाँका नागरिक छन् । भारतको पञ्जाबबाहिर सिखको सर्वाधिक सङ्ख्या क्यानडामै छ ।

Ads

सम्बन्धित पोष्टहरू