काठमाडौं । सत्तारुढ नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारको नेतृत्व गरीरहेको दल नेपाली कांग्रेस नै सभामुख हटाउने खेलमा लागेपछि संसदमा एमसीसी सम्झौता टेबल गर्न दिइएको खुलासा गरेका छन् ।
माओवादी केन्द्रको बागमती प्रदेश कमिटीको बैठकलाई सम्बोधन गर्दै प्रचण्डले कांग्रेसले समेत सभामुखको राजीनामा माग्ने योजना बनाउन थालेपछि सभामुख अग्नि सापकोटाले एमसीसी टेबल गर्न दिएको बताएका हुन् ।
कांग्रेससमेत सभामुखको विपक्षमा वेल घेराउ गर्न जाँदा देश दुर्घटनामा पर्ने भएपछि आफूहरू पछि हटेको प्रचण्डको दाबी छ । अध्यक्ष प्रचण्डले फागुन ८ गते एमसीसी पेस गर्न नदिएको भए सरकार र प्रमुख प्रतिपक्ष दुवै रोष्टममा पुगेर सभामुखको राजीनामा माग्ने अवस्था बनेको बताए ।
सभामुख बचाउन र गठबन्धन जोगाउन एमसीसी टेबल गर्न दिइएको बताए । उनले भने, ‘हामीले संशोधनबिना टेबल हुन नदिने धेरै प्रयास गरेको हो तर सकेनौं । चुनावपछि गरौं भन्दा पनि भएन । संसदमा दर्ता भइसकेको प्रस्ताव रोक्ने सम्भव पनि छैन ।’
अध्यक्ष प्रचडले एमसीसीमार्फत देशमा पुनः प्रतिगमन गराउने खेल भइरहेको भन्दै एमसीसीमार्फत जनयुद्धका उपलब्धीमाथि प्रहार गर्न खोजिएको बताए । प्रचण्डले एमसीसी माओवादीले पारित नगर्ने बैठकमा बताएका छन् ।
प्रचण्डको भनाइ थियो, ‘कांग्रेससमेत सभामुखको राजीनामा माग्ने ठाउँमा पुग्न नदिन टेबल गर्न दिइएको हो । हामीले यसलाई संसदीय समितिमा पठाएर चुनावपछिसम्म लैजान चाहेको हो तर सकिएन । अब टेबल भएको छ तर हामी यसको विपक्षमा मतदान गर्छौं ।’
प्रतिक्रिया दिनुहोस्